“त्यो बादल हिजोको साथी अहिले त सम्झिँदा पनि तैट ! एलर्जी हुन्छ” : प्रचण्ड
७ अश्विन, काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू बिग्रिएकोले सच्चिन तयार रहेको बताउनुभएको छ । पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग ९वाईसीएल० नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै दाहालले आफूलाई पहिले सच्याएमा रुपान्तरण हुने बताउनुभएको हो ।
म अरुलाई धेरै भन्दिनँ । बिग्रिएको मै हुँ । अब म सच्चिन्छु । अरु को(को सच्चिने, नसच्चिने तपाईंहरु सोच्नुस्), उहाँले थप्नुभयो, हिजो जनयुद्धमा हामफालेँ । अर्कोपटक शान्ति प्रक्रियामा हामफालेँ । कहिले संविधान बनाउनमा हामफालेँ। पार्टी एकतामा हामफालियो । फेरि समाजवादी क्रान्तिका लागि म चाहिँ हामफालेँ फालेँ । तपाईंरहामी सबैले यो फटाहाले बिगार्यो भन्नुभन्दा, मैले के बिगारेँ भन्ने सोच्न थालियो भने त्यहींबाट रुपान्तरण सुरु हुन्छ ।
आफू जालझेल, ठकठाकमा लागे पनि अरुलाई दोष दिने प्रवृत्ति पार्टीमा रहेको उल्लेख गर्दै दाहालले यसबाट क्रान्तिकारी पार्टी नबन्ने पनि बताउनुभयो । भ्रष्टाचार खुब गरिया छ । ठकठाक गरिया छ । ठेक्कापट्टा पाउनका लागि मरिहत्ते हाल्या छ । कमिसन खाना मरिहत्ते हाल्या छ ।
अनि म चाहिँ बिग्रिया छैन भन्ने लाग्ने फेरि । त्यो चाहिँ बिग्रियो भन्नेतिर लागेपछि यो पार्टी क्रान्तिकारी हुँदैन, दाहालको भनाइ थियो, म चाहिँ बिग्रियोबाट सुरु गर्नुपर्यो । म बन्नु पर्छ भन्नेबाट सुरु गरियो भने सबै बन्छन् अनि त्यसपछि क्रान्तकारी पार्टी बन्छ । पछिल्लो समय नेताहरुको प्रवृत्ति नबदल्ने हो भने पार्टी विघटन गर्नुपर्छ भन्ने धारणा राख्दै आएका दाहालले उक्त कार्यक्रममा पनि चुनाव जितेकाहरु धेरै बिग्रिएको टिप्पणी गर्नुभयो ।
तल ग्राउन्डमा बस्ने कार्यकर्ता कोही बिग्रिएका छैनन् । बिग्रिएका भनेका टाठाबाठा, चुनाव जितेका धेरैजसो छन्, दाहालले भन्नुभयो, मेरो अनुभवले के देखायो भने जल्लाई धेरै मन्त्री बनाएँ त्यही सबभन्दा धेरै भगौडा । त्यही धोकेबाज । कोही कोहीलाई मन्त्री बनाएसी ठीक हुन्छ भन्ठानेको त के को हुन्थ्यो ?
माओवादी केन्द्र छाडेर एमालेमा लागेका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुप्रति चर्को आलोचना गरेका दाहालले भन्नुभयो, त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ । अहिले कहाँ हेर्नुस् त ! त्यो बादल हिजोको साथी। अहिले त सम्झिँदा पनि तैट ! एलर्जी हुन्छ ! तानेर ल्याएर गृहमन्त्री, सरकारको नेतृत्व तपाईंले गर्नुस् भनेर बनाएको त माओवादीले, मैले हो नि ! हेर्नुस् । जो जति माथि आएको छ । त्यो त्यति बिग्रिएको छ । बुझ्नु होला ।
दाहालले बाँकी जीवन समाजवादी क्रान्तिका लागि लड्ने भनाइ पुन : दोहोर्याउनुभयो । अब कति वर्ष बाँचिन्छ । ज्यान छोडेर समाजवादी क्रान्तिको निम्ति युवाहरुको नेतृत्व गर्छु म । तपाईं युवाहरुले मलाई साथ दिनपर्यो पहिलेजस्तै । मचाहिँ हामफालेँ फालेँ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE