Date
बिहि, भदौ २, २०७९
Thu, August 18, 2022

विमलाको हत्यारा पत्ता लगाउन तथ्य नजिक प्रहरी

विमलाको हत्यारा पत्ता लगाउन तथ्य नजिक प्रहरी

२९ असार, काठमाडौं– उच्च अदालत विराटनगर इलाम इजलासमा मृत भेटिएकी विमलादेवी पराजुलीको सम्बन्धमा अपराधी पहिचानमा तथ्य नजिक प्रहरी पुगेको छ । हाल प्रमाण सङ्कलन गर्ने कार्य भइरहेको इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया पराजुली कार्यालय परिसरमै मृत फेला पर्नुभएको थियो । उहाँ उच्च अदालत विराटनगर इलाम इजलास इलाममा कार्यालय सहयोगी पदमा केही समय अघिदेखि काम गर्दै आउनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामले बिहानैदेखि घटनाका विषयमा अनुसन्धान गरिरहेको थियो । थप अनुसन्धान गर्न धरानबाट कुकुर झिकाएरसमेत अनुसन्धान गरिएको हो । कुकुर आउनुअगाडि नै प्रहरीले अभियुक्त पत्ता लगाउन करिब सफल भए पनि कुकुरको अनुसन्धानपछि थप पहिचान र प्रमाण फेला पर्न सक्ने भन्दै भोलिसम्ममा थप अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ ।

यता स्थानीयवासी तथा महिला अधिकारकर्मीले छिटो दोषी सार्वजनिक गर्न माग गरेका छन् । उनीहरुले घटनाका विषयमा छानबिन चाँडो हुनुपर्ने भन्दै उच्च अदालत अगाडि दबाबस्वरुप नाराबाजीसमेत गरेका थिए । अर्धनग्न अवस्थामा फेला पर्नुभएकी उहाँ अदालतकै बलेँसीमा घोप्टो अवस्थामा फेला पर्नुभएको थियो । शव परीक्षणका लागि बिपी कोइराला प्रतिष्ठान धरान पठाइनेसमेत बताइएको छ ।

फाकफोकथुममा शव फेला

इलामको फाकफोकथुममा एक पुरुषको शव फेला परेको छ । फाकफोकथुम–२ गोलेगाउँ निवासी अन्दाजी ५८ वर्षीय दानबहादुर तामाङ ९गैरीघरे माइला० को शव फेला परेको हो । सोमबार दिउँसो स्थानीयवासीले शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

फाकफोकथुम–२ को पुतलीखर्क भन्ने स्थानमा मृतावस्थामा बाटोमा भेटिएको शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । एकतप्पा प्रहरी चौकीको टोलीले अनुसन्धान गरिरहेको भए पनि के कारणले मृत्यु भयो भन्ने खुल्न सकेको छैन ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । शवको पहिचान भएपश्चात परीक्षणका लागि जिल्ला अस्पताल इलाममा ल्याइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले इलामले जानकारी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE