हेलिकप्टरमा डोल्पा पुगेका मुख्यमन्त्री र मन्त्रीको गलामा ४० किलोको माला
१० आश्विन, सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले शनिबार डोल्पाको एक आवासीय विद्यालयको उद्घाटन गर्नुभएको छ। उहाँहरूले जगदुल्ला गाउँपालिका-५ मा बनेको दलित आवासीय विद्यालयको उद्घाटन गर्नुभएको हो।
सुर्खेतबाट हेलिकप्टरमा डोल्पा पुगेर उहाँहरूले विद्यालयको उद्घाटन गर्नुभएको हो। उहाँहरू हेलिकप्टरमा डोल्पा पुगेको खर्चमध्ये केही रकम जगदुल्ला गाउँपालिकाले व्यहोर्ने छ।
गाउँपालिका अध्यक्ष नारसिंह रोकायाले हेलिकप्टरको कूल खर्चमध्ये कति रकम व्यहोर्ने भन्ने खुलाउन चाहनुभएन। ‘उहाँहरू उद्घाटनका लागि आउनुभएको हेलिकप्टर खर्चको केही प्रतिशत योगदान गर्ने भन्ने कुरा भएको हो, खासै धेरै छैन,’ अध्यक्ष रोकायाले भन्नुभयो।
विद्यालय उद्घाटन गर्न जाँदा चढेको हेलिकप्टर खर्चको भार गाउँपालिकालाई बोकाउनुभएका मुख्यमन्त्री शाही र उद्योग मन्त्री बुढालाई स्थानीयले पनि ४० किलोको मालाको भारी बोकाउनुभएको छ ।
उद्घाटन सत्रमा मुख्यमन्त्री शाही, उद्योग मन्त्री बुढा र गाउँपालिका अध्यक्ष रोकायालाई स्थानीयले बनाएको ४० र ४० किलोको माला लगाइदिएका थिए। उक्त माला लगाएको उहाँहरूको तस्बिर अहिले सामाजिक सञ्चालनमा चर्चामा छ।
गाउँपालिका अध्यक्ष रोकायले स्थानीयले आफूहरूलाई लगाएको ठूलो मालालाई स्थानीयको खुशीयालीका रूपमा ग्रहण गरिएको बताउनुभयो। ‘त्यति ठूलो माला लगाउनुको अर्थ वा सन्देश अरू केही भए हामीलाई थाहा भएन, मुख्यमन्त्री र मन्त्री पुगेपछि स्थानीयले खुशी भएर ठूलो माला लगाउनुभएका होलान्,’ अध्यक्ष रोकायले भन्नुभयो, ‘माला अगाडि आइसकेपछि अतिथिले लगाउँदिनँ भन्न पनि मिलेन, हामीले पनि त्यसरी नै ग्रहण गरेका छौं।’
गैरीगाउँमा बनेको उक्त दलित आवासीय विद्यालयको भवनसँग उहाँहरूले गाउँपालिकाको प्रशासकीय भवनको पनि उद्घाटन गर्नुभएको थियो। १ करोड ७० लाख लागतमा बनेको दलित आवासीय विद्यालयमा कर्णाली प्रदेश सरकारले ६० लाख लगानी गरेको छ।
बाँकी १ करोड १० लाख रुपैयाँ गाउँपालिका आफैंले लगानी गरेको हो। प्रदेश सरकारले उक्त रकम भवन निर्माणमा भन्दा पनि व्यवस्थापनमा खर्च भएको गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो। एक वर्षमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको छ।
जगदुल्ला-५ का वडा अध्यक्ष भीमबहादुर बोहराका अनुसार दलित आवासीय विद्यालय भवनमा २४ वटा कोठा छन्। तीमध्ये केही आवास र केही कक्षा कोठाको रूपमा प्रयोग गरिने छ।
उक्त ठाउँमा पहिले ज्ञानोदय आधारभूत विद्यालय थियो। अहिले उक्त विद्यालयलाई नै आवासीय विद्यालयका रूपमा बनाइएको वडाध्यक्ष रोकायले बताउनुभयो।उक्त विद्यालयमा अहिले १५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उहाँले बताउनुभयो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE