Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026

७० वर्षयताकै कम जनसंख्या वृद्धि

१२ माघ, काठमाडौँ -केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजा बुधबार प्रकाशित गरेको छ । जनगणनाका केही तथ्यांक रोचक देखिएका छन् । हिमालमा जनसंख्या घटेको छ । १० वर्षयता पहाडमा बसोबास गर्ने जनसंख्या केही बढे पनि प्रतिशतको हिसाबले घटेको छ । तराई मधेसको जनसंख्या ५० दशमलब २७ प्रतिशतबाट बढेर ५३ दशमलब ६६ प्रतिशत पुगेको छ ।

आजभन्दा १० वर्ष पहिले हिमाली भेकमा १७ लाख ८१ हजार ७९२ जना (६ दशमलब ७३ प्रतिशतं) मानिस बस्थे । अहिलेको जनगणना अनुसार हिमाली भेकमा १७ लाख ७८ हजार १०४ जना (६ दशमलब ०९ प्रतिशत) मात्र बसोबास गर्दछन् । अर्थात १० वर्षमा हिमाली भेगमा ३ हजार ६ सय ८८ जनसंख्या घटेको छ ।

पहाडमा १० वर्ष अगाडि कुल जनसंख्याको ४३ दशमलब ०१ प्रतिशत मानिसहरु बसोबास गर्दै आएका थिए । अहिले पहाडमा ४० दशमलब २५ प्रतिशत जनसंख्या मात्रै बसोबास गरिरहेको जनगणनाले देखाएको छ । करिब ३ प्रतिशत जनसंख्या पहाडबाट तराई मधेसमा बसाइँ झरेको छ । कुल जनसंख्याको प्रतिशतमा ३ प्रतिशत कम देखिए पनि संख्याको हिसाबले पहाडी जिल्लाहरुमा केही संख्या बढेकै देखिन्छ । १० वर्षअघि पहाडको जनसंख्या १ करोड १३ लाख ९४ हजार ७ थियो । अहिले १ करोड १६ लाख ४८ हजार ५ सय ४८ जना मानिसहरु पहाडी जिल्लामा बसोबास गरेको देखिन्छ । अर्थात् १० वर्षको अवधिमा पहाडमा करिब अढाइ लाख, अर्थात २ लाख ५४ हजार ५ सय ४१ जना मानिसहरु थपिएका छन् ।

तराई मधेसको हकमा कुरा गर्ने हो भने जनसंख्याको चाप विगतमा भन्दा झनै बढेको छ । सुविधा खोज्दै अधिकांश मानिसहरु तराईमा बसाई सर्ने क्रमले गर्दा तराईको जनसंख्या बढेको सहजै अनुमान गर्न सकिन्छ । आजभन्दा १० वर्ष पहिले तराईमा १ करोड ३३ लाख १८ हजार ७०५ जना मानिसहरुको बसोबास थियो । अहिले यो संख्या बढेर १ करोड ५६ लाख ६५ हजार ८२८ पुगेको छ । अर्थात, १० वर्षमा तराईमा २३ लाख ४७ हजार १ सय २३ जनसंख्या थपिएको छ । यो भनेको तराई मधेसमा वार्षिक लगभग १ लाख ९५ हजार मानिसहरु थपिनु हो ।

WRITE COMMENTS FOR THIS ARTICLE