Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

करको दरमा अर्थमन्त्रीको चलखेल अनैतिक : थापा

३ असार , काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल सकारात्मक सोच राखेर अगाडि बढेको पार्टी भएकोले चाँडै जनतामाझ स्थापित हुने बताएका छन्।

विश्वको सर्वोच्च शिखर सगरमाथामा राप्रपा नेपालको झण्डा फहराउने पर्वतारोहीलाई सम्मान गर्न आयोजित कार्यक्रममा अध्यक्ष थापाले हिजो कांग्रेस र कम्युनिष्टले जस्तै राजालाई गाली गरेर राप्रपा नेपाललाई स्थापित गर्ने नभई आफ्नो विचारको बलमा राप्रपा नेपाललाई स्थापित गर्न सक्ने ठोकुवा गरे।

आफूहरू फरक दृष्टिकोण बोकेर जनताको माझ गएको दाबी गरेका थापाले आफूहरूलाई बलियो बनाउन कसैलाई गाली गर्नुपर्ने आवश्यकता नभएको बताए। अहिले देशको विकृति र विसंगतिको कारण राजा नभएको जिकिर गर्दै थापाले यसमा दल र दलका नेताहरूको पनि उत्तिकै जिम्मेवारी रहेको उनको भनाइ थियो।

सम्बोधनकै क्रममा अध्यक्ष थापाले नेपाललाई आवश्यक नै नभएको एसपीपी सम्झौताका बारेमा व्यापक चर्चा भइरहेको समयमा नेपाल सरकारले अमेरीकी सरकारलाई औपचारिक रुपमै पत्र लेखेर एसपीपीबाट नेपाल अलग रहेको प्रष्ट्याउनुपर्ने बताए।

करको दरको हेरफेरको संवेदनशील काममा अर्थमन्त्री जनार्दन शर्माले ठूलो आर्थिक चलखेल र असंवैधिक अपराध गरेको उनले आरोप लगाउँदै उनले भने, ‘मलाई आश्चार्य लागेको छ, आजका दिनसम्म न त अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुभएको छ, न त प्रधानमन्त्रीले उहाँलाई पदबाट हटाउनुभएको छ, न त नेकपा माओवादीले उहाँलाई मन्त्रीबाट फिर्ता नै बोलाएको छ।’

कार्यक्रममा राप्रपा नेपालको चुनाव चिन्ह तीर सहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने पर्वतारोही नवन पासाङ शेर्पालाई तत्कालिन राप्रपा नेपालका महामन्त्री स्व।

चन्द्रबहादुर गुरुङको स्मृतिमा स्थापित पुरस्कारद्वारा सम्मान गरिएको थियो। अध्यक्ष कमल थापाले शेर्पालाई एक लाख रुपैंया सहित ‘चन्द्र स्मृति विशिष्ठ प्रतिभा पुरस्कार’बाट सम्मान गरेका थिए। सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपाल प्रवेश गर्नेहरुलाई अध्यक्ष थापाले पार्टीमा स्वागत गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE