कवि तारकिणीको ‘बिगन रामको मादल’ कवितासंग्रहमाथि अन्तरक्रिया

काठमाडौँ – कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ । सोमबार संविधान दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा कविरसाहित्यकार श्यामल, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ, कविरसमीक्षक एवं प्राध्यापक गीता त्रिपाठी र लेखकरसमीक्षक राजकुमार बानियाँ लगायतले कृतिको विमोचन गर्नुभएको हो ।
विमोचनपछि कृतिमाथि समीक्षात्मक अन्तरक्रिया गरिएको थियो । प्रस्तोता राजकुमार बानियाँले वक्ताहरु श्यामल, शलभ र त्रिपाठीलाई पालैपालो कवि तारकिणीका कविताको भावभूमि, सबल पक्ष, समकालीन कवितामा उनको स्थान र सीमाबारे प्रश्न गर्नुभएको थियो ।
कवि श्यामलले कवि तारकिणीका कविता सशक्त रहेको बताउँदै भन्नुभयो, ‘झारपात कुरा उठाएर राजेन्द्रले समय खर्च गरेका छैनन् । कवितामा राजेन्द्रको चिन्ता शासकप्रतिको हैन, आम सामान्य मान्छेको चिन्ता छ । त्यसैले उनका कविता भूपि, रिमालका कविताकै चिन्तासँग मिल्दोजुल्दो छ ।’
‘कवि तारकिणीले आफ्नै भूमिकामा ‘कविता आफ्नो हतियार’ हो भनेका छन् । प्रायः सबै मार्क्सवादीले यसो भन्छन् । त्यसैले तारकिणी मेरो छेउछाउ र मेरै स्कुलका कवि हुन् कि जस्तो लाग्यो,’ श्यामलले थप भन्नुभयो, ‘राजेन्द्रका कविता आफ्नै शैलीका छन् । कवितामा आफ्नो निजत्व छ ।’
कार्यक्रमका अर्का वक्ता राजेन्द्र शलभले भन्नुभयो, ‘कविताको किताब पढिसकेपछि त्यसभित्रका कविता सम्झिइयो भने म त्यस्तो कृतिलाई सफल कृति ठान्छु । कवि तारकिणीको यो किताब पढिसक्दा मैले १०(१२ वटा कविता सम्झिएँ । त्यसैले यो कृति सफल छ ।’
उहाँले तारकिणीका कविता कुनै वादसँग जोड्नु आवश्यक नरहेको बताउनुभयो । ‘तारकिणीका कविता उनको मनकै अभिव्यक्ति हुन्, ती कवितामा आफ्नै शैली भएकाले सफल छन्,’ उहाँले थप्नुभयो ।
कवि एवं समीक्षक गीता त्रिपाठीले यो युगलाई पढ्न चाहनेहरुका लागि कुनै समय राजेन्द्र तारकिणीका कविता पनि एउटा इतिहास बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तारकिणीका कविता विम्बैविम्बले भरिएका छन् । दोहोरिएका विम्ब छैनन् ।’
कार्यक्रममा युवानेता माधव पन्तले कविबारे संक्षिप्त टिप्पणी राख्दै गाउँदेखि शहरसम्म आइपुग्दाका उतारचढाव, श्रवणशक्ति गुमाउँदाको पीडा र हालको संघर्षबारे बताउनुभएको थियो । यसैगरी नेपाली सांकेतिक भाषामा पहिलो शोध ९थेसिस० गर्नुभएकी शिलु शर्माले सांकेतिक भाषाका माध्यमबाट कवि तारकिणीलाई सञ्चारमा सहजीकरण गरिदिनुभएको थियो । कार्यक्रमको सञ्चालन कवि÷समीक्षक भरत कुमार साउँदले गर्नुभएको हो ।
कवि तारकिणीले ‘बिगन रामको मादल’ कृतिगत हिसाबले चौथो कृति रहेको र यसमा पछिल्लो एक दशक अवधिमा लेखिएका सशक्त कविताहरु संकलित रहेको जानकारी दिनुभयो । उहाँले आफ्नो मन्तव्यमा भन्नुभयो, ‘हाम्रो पुस्ताले पछिल्ला कालखण्डमा ठुला त्रासदी र उथलपुथल भोगेको छ । दशवर्षे सशस्त्र द्वन्द्व, नयाँ संविधान निर्माणका क्रममा भएका राजनीतिक रस्साकस्सी, विनाशकारी भुइँचालो, भारतीय नाकाबन्दी, कोरोना महामारी आदि १ मैले कवितामा आम मान्छेका आवाजलाई उनेको छु, मेरो कविताको आवाज राज्यले सुनोस् भन्ने चाहन्छु ।’
आफू बाँचेको कालखण्ड झल्किने गरी आम साधारण मान्छेको आवाज मुखरित गर्दै लेखिएका तारकिणीका कविताले तत्कालीन समाज र समयको चित्र विम्बित गरेको वक्ताहरुको निष्कर्ष थियो ।
शिखा बुक्सले प्रकाशन गरेको पुस्तक ६ खण्डमा विभाजित छ । जसमा ५४ कविता संग्रहित छन् भने पुस्तकको मूल्य रू ३०० रहेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE