श्रीलङ्कामा हात्ती धपाउन पटकामा बर्सेनि ८० लाख अमेरिकी डलर खर्च
एजेन्सी – श्रीलङ्कामा मानव र हात्तीबीचको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च हुने गरेको वन्यजन्तु मन्त्रालयले जनाएको छ ।
यो खर्च मुख्यगरी पटकामा हुने गरेको छ । कृषि, वन्यजन्तु तथा वन स्रोत संरक्षण मन्त्री महिन्दा अमरविराले सरकारलाई प्रतिवर्ष कम्तीमा १४ लाख हात्तीका लागि पटका आवश्यक पर्ने गरेको जानकारी दिनुभएको छ।
हात्तीले मानव बस्तीमा आक्रमण गर्नुको मुख्य कारण वनक्षेत्रमा घर तथा बस्ती निर्माण हुनु, हात्ती खुलेआम हिँडडुल गर्नु र जङ्गली हात्तीका लागि खाना र पिउने पानीको अभाव हुनु रहेको पनि उहाँले बताउनुभयो ।
मानव र हात्तीबीच हुने गरेको द्वन्द्वमा थप क्षति हुन नदिन स्थायी समाधानका लागि कदम चालिएको तर निक्कै चुनौतीपूर्ण रहेको वन मन्त्री अमरविरालाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
तथ्याङ्कअनुसार श्रीलङ्कामा मानव–हात्ती द्वन्द्वका कारण बर्सेनि झण्डै तीन सय हात्ती र सय जनाभन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । सन् २०१९ मा मानव–हात्ती द्वन्द्वमा श्रीलङ्कामा सबैभन्दा धेरै ४ सय ७ हात्ती मरेका थिए । श्रीलङ्कामा जङ्गली हात्तीको हत्या गर्नु फौजदारी अपराध मानिन्छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE