Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

गाउँघरमा देखिन छाड्यो पिङ

काठमाडौँ – पिङ हालेको देखेपछि दशैँ आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको बताइन्छ । गाउँघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेले वर्षमा एक पटक भए पनि दशैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ । विशेष गरी दशैँको बेलामा पिङको छुट्टै महत्व छ ।

विगत केही वर्ष पहिला दमौली सदरमुकाममा पनि पिङ हाल्ने प्रचलन थियो । दशैँ मनाउनका गाउँ गएकाले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे तर विस्तारै पिङ हाल्ने प्रचलन लोप हुन थालेको छ । सहरमात्र नभई गाउँघरमा पनि आजभोलि कमै मात्र पिङ देख्न सकिन्छ ।

पहिला पहिला दशैँ आउनुअगावै पिङ हालेर रमाइलो हुने भए पनि आजभोलि त्यस्तो प्रचलन हराउँदै आएको म्याग्दे गाउँपालिका–७ का मोहन बरालीले बताउनुभयो । “दशैँमा पिङ खेल्ने, रमाउने परम्परा हराउँदै गयो, आधुनिकताका कारण यी सबै इतिहासमा सीमित हुने हो की भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “आजभोलि त सहर बजारका साथसाथै गाउँमा पनि पिङ देख्न छाडियो ।”

पहिला–पहिला दशैँ आएपछि गाउँघरमा पिङ खेलेर रमाइलो गर्ने प्रचलन भए पनि आजभोलि त्यस्तो क्रम घट्दै गएको भिमाद नगरपालिका–९ का शिवकुमार आलेले सुनाउनुभयो । विगतका वर्षहरुमा प्रत्येक गाउँमा पिङ देख्ने गरिए पनि आजभोलि निकै काम मात्रै पिङ देखिने आलेको भनाइ छ । “पहिला पहिला जताततै पिङ देखिन्थ्यो, पिङ खेल्न पालो कुर्नुपथ्र्यो, आजभोलि विस्तारै घट्दै छ”, उहाँले भन्नुभयो । उहाँले संस्कृति जोगाउनका लागि आफूहरु यो वर्ष पिङ हाल्ने तयारीमा रहेको बताउनुभयो ।

सहर बजार र जिल्ला बाहिर भएका व्यक्ति दशैँ मान्न घर फर्किदा गाउँघर भने रमाइलो हुने गरेको छ । व्यास नगरपालिकाले विगतका केही वर्ष व्यास–३ स्थित खुला मैदानमा रोटे पिङ हालेको थियो । विगत दुई वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण दमौलीमा पनि पिङ हालिएन तर केही गाउँमा भने दशैँका बेला पिङ हाल्ने प्रचलन अझै पनि कायमै रहेको छ । भानु नगरपालिका–५ बारीफाँटस्थित जनसेवा युवा क्लबका सदस्यले पिङ हालेपछि गाउँमा दशैँ आएकोजस्तो अनुभूति स्थानीय युवा मनोज श्रेष्ठले जानकारीदिनुभयो ।

त्यस्तै केही ठाउँमा संस्कृति र परम्पराका लागि जनाउँदै स्थानीयवासीले पिङ हाल्ने तयारी गरेका छन् । बन्दीपुरस्थित टुँडिखेलमा स्थानीय व्यवसायीले पिङ हाल्ने तयारी गरेको किसान प्रधानले जानकारी दिनुभयो । “टुँडिखेल टोल विकास संस्थाले दशैँका लागि पिङ हाल्नका लागि बाबियो सङ्कलन गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “केही दिनभित्रै पिङ तयार हुन्छ ।” उक्त संस्थाले गत वर्ष पनि बन्दीपुरमा पिङ हालेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE