Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

पर्यटन विकासमा फड्को मार्दै धौलागिरि

काठमाडौँ – धौलागिरि क्षेत्र पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै गएको छ ।

साविकको धौलागिरि अञ्चलका म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतमा पछिल्लो एक दशकमा दुई दर्जनभन्दा बढी मानवनिर्मित र प्राकृतिक पर्यटकीयस्थलको पहिचान, व्यवस्थापन र निर्माण भएपछि यस क्षेत्रले पर्यटन विकासमा फड्को मार्दै जान थालेको हो ।

कास्कीको नयाँ पुल तरेपछि सुरु हुने धौलागिरि क्षेत्रमा अहिले दुई दर्जन बढी पर्यटकीयस्थलले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न सफल भएका छन् ।

राउण्ड अन्नपूर्णको चर्चित पर्यटकीयस्थल घोडे पानीदेखि लिएर म्याग्दीको टोड्के, खयरबराह, करबाकेली, राम्चे, लभ्लीहिल, गलेश्वर, महारानी थान, ताकमकोट, ज्यामरुककोट, डढेकोट, जगन्नाथ, झाँक्रीपानी, पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वको दोस्रो लामो जिपलाइन गुप्तेश्वर धामलगायत बागलुङ र मुस्ताङका दर्जन बढी पर्यटकीयस्थलमा पूर्वाधार निर्माण र चुस्त व्यवस्थापनले पर्यटक आकर्षित भएका हुन् ।

त्यसैगरी बागलुङ कालिका, विश्वकै लामो झोलुङ्गे पुल, पञ्चकोट, सालग्राम सङग्रहालय जस्ता मानवनिर्मित धार्मिकस्थल तथा आध्यात्मिक केन्द्रको व्यवस्थापन र प्रचारप्रसारले धौलागिरि क्षेत्रको मुहार उजिल्याउन सहयोग पुगेको स्थानीयवासीले बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE