Date
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023

बिरामीको मृत्यु भएको भन्दै केएमसीमा धर्ना

काठमाडौं – चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र संघर्ष समितिले धर्ना दिएका छन् ।

काठमाडौं महानगरपालिका–९ ओमनगर निवासी ४८ वर्षीय शैलेन्द्र विद्याधरको गत असोज ३० गते उपचारको क्रममा मृत्यु भएपछि मृतकका परिवार र आफन्त केएमसीविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

मृतककी श्रीमती सुशिला विद्याधरसहित संघर्ष समितिको टोलीले आज शनिबार अस्पताल वरपर नाराबाजीसहित प्रदर्शन गरेको हो । सोही क्रममा उनीहरुले ‘सरकार पीडितलाई न्याय देऊ’, ‘लाइसेन्स लिएर मान्छे मार्न पाइँदैन’, ‘केएमसी प्रशासन मुर्दावाद’, ‘हत्यारा डाक्टर मुर्दावाद’, लगायतका नारा लगाएका छन् ।

डाक्टरले ब्रेन ट्युमरको अप्रेसनका क्रममा टाउकोको नशा काटेका कारण बिरामीको ज्यान गएको भन्दै आक्रोशित मृतकका आफन्तले उचित क्षतिपूर्ति र न्युरो अस्पतालमा लागेको उपचारको खर्च व्यहोर्नुपर्ने माग गरेको छ । यता अस्पताल प्रशासनले भने कुनै चासो नदेखाएको संघर्ष समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।

उहाँले बिरामीको मृत्यु भएको २१ दिन पुगिसक्दासमेत अस्पतालले कुनै चासो नदिएको बताउनुभयो । उहाँले शनिबार पनि अस्पतालले पीडितका मागहरु सम्बोधन नगरेमा आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने चेतावनी दिनुभयो । उहाँले मृत्यु भएको २१ दिनसम्म परिवारलाई क्षतिपूर्ति दिने कुरा नै नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

मृतकका परिवारले डा.अमृत थापाको नेतृत्वमा रहेको काठमाडौं मेडिकल कलेजको टिमले बिरामीलाई सस्तैमा अप्रेसन गरिदिने प्रलोभनमा पारी लापरवाही गरेर बिरामीको मृत्यु भएको बताए । संघर्ष समितिका सदस्यहरुले सरकार पीडितलाई न्याय दे, मेडिकल माफिया मुर्दावाद, हाम्रो माग पूरा गर, केएमसी प्रशासन मुर्दावाद, लाइसेन्स लिएर मान्छे मार्न पाइँदैन जस्ता नारा लगाएर बिरोध गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE