Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

चितवनमा पुरूषको हत्या,आरोपितलाई पक्राउ गर्न जाँदा स्थानीय र प्रहरीबीच झडप

२ आश्विन, चितवन – पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ९ शितलपानीका ५९ वर्षीय कान्छा लामा छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति पौने १० बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेका हुन्।

प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार पुरानो रिसिइबीका कारण मदिरा सेवन गरी हत्या गरेको बुझिन आएको छ। घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुंगामुढा गरेका थिए।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास समेत प्रहार गरेको उनले बताए। सोही क्रममा झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच प्रहरी र दुई स्थानीयबासी घाइते भएका छन्।

खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए। राति नै आरोपित मल्ललाई भरतपुर ल्याइएको छ। शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE