समावेशी समाज निर्माणका लागि समाज अपाङ्ग मैत्री हुन जरूरी
सिरहा, मंसिर १८ गते । ३३औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नौऔं दिन पारेर आज ३ डिसेम्बर, अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी सिरहामा बिभिन्न कार्यक्रम गरी मनाइएको छ। यस वर्ष नेपाल सरकारले अपाङ्गता दिवसको अवसरमा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएको व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार” भन्ने राष्ट्रिय नारा तय गरेको छ।
सिरहा नगरपालिकाले मुक्ति नेपाल र अन्य संघ-संस्थाको सहकार्यमा नगर क्षेत्रमा र्याली तथा सभा कार्यक्रम आयोजना गर्यो। सिरहाको बजार परिक्रमा गरी नगरपालिकाको सभा हलमा समापन भएको र्यालीपछि अपाङ्गता भएका व्यक्तिहरूका समस्याहरू माथि छलफल गरियो।
त्यसैगरी, गोलबजार नगरपालिका–१३ मा नेत्रहीन संघ सिरहा, मुक्ति नेपाल, र वडा कार्यालयको संयुक्त आयोजनामा नेत्रहीनहरूको समस्या र सरकारी सेवा-सुविधामा पहुँचको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। नेत्रहीन संघ सिरहाका अध्यक्ष शिवराम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपाङ्गताको आरक्षण, शिक्षा, रोजगारी, र भौतिक पूर्वाधारमा अपाङ्ग मैत्री दृष्टिकोण अपनाउने विषयमा गहन छलफल गरियो। कार्यक्रममा वडा अध्यक्ष नन्द कुमार महतो, सचिव गौतारी लामा, स्वास्थ्य इन्चार्ज राम उदगार महतो, र इलाका प्रहरी कार्यालयका प्रतिनिधि श्री रामवृक्ष महतोसहित २९ जनाको उपस्थिति रहेको थियो।
कल्याणपुर नगरपालिकाले मुक्ति नेपाल र जिल्ला अपाङ्ग असहाय केन्द्र सिरहाको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरूका अधिकार सुनिश्चित गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो। साथै, आत्मनिर्भर जीवन यापन गरिरहेका एक अपाङ्ग व्यक्तिलाई सम्मान गर्दै कार्यक्रम समापन गरियो।
समग्रमा, विभिन्न कार्यक्रमहरूले अपाङ्गता भएका व्यक्तिहरूको मुद्दालाई समाज र सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका छन्। तर, अझै पनि अपाङ्गता मैत्री समाज निर्माण गर्न ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE