Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

नेपाली नागरिकता रद्दिको टोकरीमा फ्याँक्ने कुरा होइनः महासचिव पोखरेल

११ साउन, काठमाडौँ -नेकपा एमालेका महासचिव शंकर पोखरेलले गलत व्यवस्था सहितको नागरिकता विधेयक पारीत गरेर सरकारले सही काम नगरेको बताउनुभएको छ । नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु नभएको भन्दै उहाँले विवाह गरेर आएकै दिन नेपाली नागरिकता दिने कुरा गलत भएको बताउनुभयो ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै महासचिव पोखरेलले भारतीय नागरिकसँग विवाह गरेर जाँदा नेपाली चेलीले भारतको नागरिकता प्राप्त गर्न सात बर्ष पर्खिनु पर्ने तर नेपाल आउने भारतीय महिलले त्यहि दिन नागरिकता प्राप्त गर्ने कुरा गलत भएको बताउनुभएको हो । यो असमानता भएको पनि उहाँको भनाई थियो ।

अर्को सन्दर्भमा बोल्दै महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हालैको दिल्ली भ्रमण प्रति लक्षित गर्दै प्रधानमन्त्री पदका लागि दिल्ली धाउन प्रवृत्ति गतल भएको बताउनुभयो । यसले राष्ट्रिय स्वाभिमान गिराएको जिकिर गर्नुभयो । प्रतिगमन भयो भनेर सडकमा हल्ला गर्दै हिंड्नेहरु नै अहिले प्रतिगमनको बाटो हिंडिरहेको आरोप समेत लागाउनुभयो ।

श्रमजीवि वर्गलाई संगठित गर्दै, एकतावद्द गर्दै सवै श्रमजीवि वर्गको साझा संगठनका रुपमा जिफन्टलाई लैजानु पर्ने महासचिव पोखरेलले धारण राख्नुभयो । असंगठित रुपमा रहेकाहरुलाई संगठित गर्न, अनौपचारिक क्षेत्रका श्रमिकलाई श्रम आन्दोलनमा अझ बलियोसँग जोड्न आवश्यक रहेको उहाँको भनाई थियो । ह्वाईट कलर र व्लू कलरका नाममा श्रमिकलाई विभाजित गर्ने काम गरिएको भन्दै उहाँले अलग अलग कित्तामा विभाजित हुँदा त्यसले श्रम आन्दोलनलाई कमजोर बनाउने बताउनुभयो ।

बन्द सत्रमा जिफण्ट अध्यक्ष बिनोद श्रेष्ठले आगामी चारबर्षको लागि नीतिगत प्रस्ताव, उपाध्यक्ष रमेश बडालले विधान संशोधनको प्रस्ताव, उपाध्यक्ष विदुर कार्कीले आगामी कामको प्रस्ताव तथा महासचिव जनक चौधरीले चारवर्षको साँगठनिक प्रस्ताव पेश गरेथिए । महाधिवेशनमा देशभरीबाट जिफन्टका झण्डै ५ सय प्रतिनिधि सहभागि रहेकाछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE