जनकपुरधाममा सम्पन्न भयो सीताराम विवाह महोत्सव, आज जन्तीको विदाइसँगै रामकलेवा
रवि ऋषि
जनकपुरधाम, मंसिर २२ – मिथिला संस्कृति र परम्पराको अनुपम झल्को दिने सीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शुक्रबार राति आयोजित सीता स्वयम्वर र विवाह कार्यक्रमपछि आज जन्तीलाई विदाइ गर्दै रामकलेवा समारोहको आयोजना गरिनेछ।
सीता स्वयम्वर: देवत्वको अलौकिक दृश्य
शुक्रबार बिहान जानकी मन्दिरमा विशेष पूजाआजा पश्चात माता सीताको डोला बाजागाजासहित रंगभूमि (बाह«बिघा) मैदानतर्फ प्रस्थान गरेको थियो। मिथिला परम्पराअनुसार रंगभूमि मैदानमा जानकी मन्दिरको डोला सबैभन्दा पहिला पुग्ने चलन छ।
डोलासँगै श्रद्धालुहरूको उपस्थिति रंगभूमि मैदानमा बाक्लो देखियो। जानकी मन्दिरको डोलापछि राम मन्दिरको डोला पनि जन्ती र बाजागाजासहित रंगभूमि पुग्यो। त्यसक्रममा अयोध्याबाट आएका जन्तीहरूसँग मिथिलानीहरूले स्वागतका साथ परम्परागत गाली गरेर मनोरञ्जन गराए।
शिव धनुष भंगको ऐतिहासिक झल्को
रंगभूमि मैदानमा आयोजित सीता स्वयम्वरमा भगवान रामले त्रेता युगको महाकाव्यीय घटना दोहोर्याउँदै शिवको पिनाक धनुष भंग गरे। यो दृश्य हेर्न मैदानमा उपस्थित श्रद्धालुहरू उत्साहित देखिए। स्वयम्वर सम्पन्न भएपछि भगवान राम, सीता लगायतका डोला नगर परिक्रमा गर्दै जानकी मन्दिर पुगे।
विवाह सम्पन्न, मिथिला परम्पराको अनुपम प्रदर्शन
जानकी मन्दिरमा आयोजित वैवाहिक कार्यक्रम मिथिलाको विधिविधानअनुसार विधिपूर्वक सम्पन्न भयो। जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार यो महोत्सवले मिथिला परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो भूमिका खेल्छ। वैवाहिक कार्यक्रममा अयोध्या राम मन्दिर ट्रष्टका सचिव चम्पत्त राय, विश्व हिन्दू परिषद् अयोध्याका महासचिव राजेन्द्र सिंह ‘पंकज’ लगायत सन्त महन्तहरूको उपस्थिति रहेको थियो।
रामकलेवाको तयारी: जन्तीको विदाइ कार्यक्रम
आज शनिबार जन्तीको विदाइसँगै रामकलेवा समारोहको आयोजना हुँदैछ। जानकी मन्दिरमा जन्तीलाई मिथिलाको विशेष परिकार र परम्परागत सत्कारसहित सम्मान गरिनेछ। जन्तीलाई वस्त्र र नगद प्रदान गरी साधु परम्पराअनुसार विदा गरिने महोत्सव आयोजकले जनाएका छन्।
सीताराम विवाह पञ्चमी महोत्सवले मिथिलाको सांस्कृतिक महत्व उजागर गर्दै हजारौँ श्रद्धालुहरूको आस्थाको केन्द्रबिन्दु बनेको छ। यसले धर्म, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।
WRITE COMMENTS FOR THIS ARTICLE