Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

मुख्यमन्त्री सिँहद्वारा मध्यरातमा छापामारी, कमला खोलाको दोहन रोक्न कडा कारबाही

✍️रवि ऋषि

जनकपुरधाम, माघ २४ गते : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले बुधबार मध्यरातमा धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७ पोर्ताहा क्षेत्रमा अवैध रूपमा भइरहेको नदीजन्य पदार्थको दोहन रोक्न छापामारी गरेका छन्। मुख्यमन्त्रीको नेतृत्वमा गरिएको यो छापामारीलाई प्रदेश सरकारको ऐतिहासिक कदमको रूपमा लिइएको छ, जसले प्राकृतिक स्रोतको अनाधिकृत शोषणलाई रोक्ने महत्त्वपूर्ण सन्देश दिएको छ।

१३ ट्याक्टर र २ बकेट नियन्त्रणमा

मुख्यमन्त्री सिँहको नेतृत्वमा भएको अनुगमनमा धनुषा प्रहरीसहितको टोलीले मध्यरातदेखि बिहानसम्मको अपरेसनमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका १३ ट्याक्टर, २ बकेट र ५ चालकलाई नियन्त्रणमा लिएको छ।
धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुण सिँहका अनुसार अनुगमनका क्रममा दोहन कार्यमा संलग्न स्काइभेटर र अन्य उपकरणहरू अँध्यारोको लाभ उठाउँदै भागे पनि केही उपकरण र साधन नियन्त्रणमा लिइएको छ।

मुख्यमन्त्रीको दृढ कदम

मुख्यमन्त्री सिँहले अवैध उत्खनन् प्राकृतिक स्रोतहरूको दोहन मात्र नभई राज्यको राजस्व गुमाउने र जैविक विविधतामा नकारात्मक असर पर्ने काम भएको बताउँदै यस्तो कार्य रोक्न कडा कदम चाल्ने प्रतिवद्धता जनाएका छन्।
उनले भने, “नदीजन्य स्रोतहरूको अनधिकृत उत्खनन् र चोरीनिकासीले मधेशको उर्वर भूमिलाई मरुभूमिमा परिणत गर्ने खतरा छ। यसैले सरकार चुप लागेर बस्न सक्दैन। विधि र मापदण्डअनुसार मात्र स्रोतहरूको सदुपयोग गरिनुपर्छ।”

प्राकृतिक स्रोतको संरक्षणमा कडाइ

प्राकृतिक स्रोतको दोहन रोक्न धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले थप कडा सुरक्षा व्यवस्था मिलाइने र दोषीमाथि कडा कारबाही गरिने बताए। उनले यस विषयमा जिल्ला अनुगमन समितिको बैठक बोलाउने र दीर्घकालीन समाधानका लागि आवश्यक नीति निर्माण गरिने जानकारी दिए।


स्थानीय क्रसर उद्योगमाथि आरोप

डिभिजन वन कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका क्षेत्रमा रहेको कमलामाई क्रसर उद्योग लगायतका क्रसरहरूले रातारात नदीजन्य स्रोतको अवैध उत्खनन् गरिरहेको जनगुनासोका कारण यस छापामारी अभियानको सुरुवात गरिएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE