उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी
उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी
१७ जेठ, काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ २० पछि भने खुकुलो पारिने भएको छ। कोरोना संक्रमण केही नियन्त्रण उन्मुख देखिन थालेपछि निषेधाज्ञा केही खुकुलो पार्ने तयारी गरिएको हो ।
यसअघि जेठ १३ गते मध्यरातिदेखि निषेधाज्ञामा थप कडाइ गरिएको थियो । तर पछिल्लो समय कोरोना संक्रमण केही घटेकोले सर्वसाधारणको सहजताका लागि निषेधाज्ञालाई खुकुलो बनाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले बताउनुभयो ।
उपत्यकामा स्थिति अनुकुल हुन थालेपछि खाद्यान्न लगायतका पसलहरु पनि समय तोकेर खोल्न दिने तयारी गरिएको काठमाडौंका सीडीओ पराजुलीले बताउनुभयो । अहिले थपिएको निषेधाज्ञा जेठ २० गतेसम्म लागू हुनेगरी थपिएको छ ।
‘यस्तै खाद्यान्न बाहेकका क्षेत्रहरु पनि खुकुलो बनाउने विषयमा छलफल गर्ने तयारी रहेको छ ।’ पराजुलीले भन्नुभयो, ‘सम्भवतः १९ गतेभित्र काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरुको उपस्थितिमा बैठकमा बसेर निचोड निकाल्छौं ।’ उहाँले थप्नुभयो, ‘संक्रमण दर थप घट्दै गयो भने क्रमशः अरु क्षेत्रलाई पनि खुकुलो पार्दै लैजान्छौं ।’
उपत्यकामा अहिले प्रशासनले तरकारी, दुध, मासु, ग्याँस र पानीका लागि मात्र निषेधाज्ञा खुकुलो बनाएको छ । यी क्षेत्र पनि बिहानको समयमा एक घण्टामात्र खोल्ने दिने व्यवस्था प्रशासनले गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE