सिरहाको माडरमा ‘इन्दिरा जल’को पानी बोतलमा किरा भेटिए पछि बजारमा हङ्गामा, उपभोक्ताले मागे कारबाही
✍️दिनेश सहनी
जनकपुरधाम, जेठ २४ गते-
सिरहा नगरपालिका-१७ माड़रस्थित बसपार्कको कन्हैया होटलबाट एकजना ग्राहकले खरीद गरेको इन्दिरा जल नामक ब्राण्डको सिलबन्दी खानेपानीको बोतलभित्र किरा भेटिएपछि स्थानीय उपभोक्तामा त्रास फैलिएको छ। पानीको बोतल पूर्णरूपमा सिलबन्दी अवस्थामा भए पनि भित्र किरा फेला परेको घटनाले जनस्वास्थ्य र उपभोक्ता अधिकारप्रति गम्भीर प्रश्न उठाएको छ। उपभोक्ताले कम्पनीमाथि गम्भीर लापरवाही र मानव स्वास्थ्यसँगको खेलवाड गरेको आरोप लगाएका छन्।

ग्राहककै मोबाइलमा रेकर्ड भएको प्रमाण
उक्त घटना देखेपछि उपस्थित ग्राहकहरूले मोबाइलमा भिडियो खिचेका छन् जसमा प्लास्टिक बोतलभित्र ससाना कालो किरा तैरिरहेको स्पष्ट देखिन्छ। सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भएसँगै इन्दिरा जल कम्पनी प्रति स्थानीय जनतामा आक्रोश बढ्दै गएको छ।
स्थानीयहरुले भने “पिउने तयारीमै भएको पानी बोतल खोल्नुअघि नै ध्यान गइयो, नत्र त बच्चा वा बृद्धले सिधै पिएर बिरामी हुने खतरा थियो। यो सस्तो लापरवाही होइन, ज्यानसँग खेलवाड हो।”

स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खतरा
घटनाबारे बोल्दै स्थानीय उपभोक्ता प्रमोद यादवले भने, “हामीले बजारमा पैसाले किनेको पानीमा यति गम्भीर लापरवाही देख्दा हाम्रो स्वास्थ्यको के मूल्य? यस्तो गुणस्तरहीन पानी खुवाएर सिधै ज्यानको खेलवाड गरिएको छ।”
खासगरी गर्मी महिनामा मानिसहरूले सुरक्षित पानी पिउन खोज्दा बजारमा यस्ता खतरनाक उत्पादन खुलेआम बिकिरहेको देखिएको छ। बोतलमा स्पष्टरूपमा उत्पादन मिति र उपभोग्य मिति उल्लेख भएको भए पनि भित्र किरा भेटिनु उपभोक्ता अधिकारमाथिको गम्भीर उल्लंघन हो।
कम्पनीको पृष्ठभूमि र पंजीकरण विवरण
गोलबजार नगरपालिका-८, चोहर्वामा रहेको इन्दिरा जल साह पानी उद्योग, दर्ता नं. ०७-१६-०७५-०८-००२, ले बजारमा विभिन्न साइजका बोतलमा पानी आपूर्ति गर्दै आएको छ। तर, पटक–पटक गुणस्तरीय मापदण्डको उल्लंघन गर्दै आएको भन्ने गुनासो स्थानीय बासिन्दा र व्यवसायीहरूबाट समेत उठ्ने गरेको छ।
नियमित परीक्षणको अभाव र प्रशासनको भूमिकामाथि प्रश्न
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशभर विक्रि हुने प्याकेजिङ पानीका गुणस्तर अनुगमन गर्नुपर्ने भए पनि जिल्ला तहमा अझै प्रभावकारी अनुगमनको अभाव स्पष्ट देखिन्छ।
स्वास्थ्य विशेषज्ञ डा. प्रबिन कुमार यादव भन्छन्, “खानेपानीमा यस्ता जीवाणु तथा किरा देखिनु अत्यन्तै घातक विषय हो। यसले पेटको संक्रमण, टाइफाइड, डायरिया लगायतका रोग निम्त्याउन सक्छ।”
कानूनी दृष्टिकोण : कारवाहीको माग
उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कुनै पनि उत्पादनमा अशुद्धता देखिएमा सम्बन्धित कम्पनी वा उद्योगविरुद्ध कडा कारवाहीको व्यवस्था छ। यसै ऐनको धारा ३९ अनुसार, यस्तो काम आपराधिक लापरवाही मानिन्छ र जरिवाना वा कैद दुवै सजाय हुन सक्छ।
अधिवक्ता तथा कानूनी विज्ञ संतोष कुमार सुबेदी भन्छन्, “यदि बोतल भित्र किरा भेटिएको प्रमाणित भएमा उपभोक्ताले जिल्ला प्रशासन कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा उजुरी दिनसक्छन्, र कानूनी कारवाहीको प्रक्रिया थालनी गर्न सकिन्छ।”
स्थानीय प्रशासनको जवाफदेहिता आवश्यक
यस घटनाले स्थानीय प्रशासन र अनुगमन निकायहरू आफ्नो भूमिकामा चुकेको देखाएको छ। सम्बन्धित निकायले तत्काल अनुसन्धान गरेर दोषी कम्पनीमाथि आवश्यक कारवाही नगरे उपभोक्तामा झनै असन्तुष्टि र अविश्वास बढ्ने निश्चित छ।
सिलबन्दी पानीमा किरा भेटिनु केवल एउटा सामान्य त्रुटि होइन, यो उपभोक्ताको जीवनसँगको प्रत्यक्ष खेलवाड हो। इन्दिरा जलजस्ता कम्पनीहरूलाई यथाशीघ्र कारवाही नगरे जनस्वास्थ्यमा गम्भीर संकट आउन सक्छ।
यता, यस विषयमा कम्पनी सँग प्रतिक्रिया लिन खोज्दा फोनमा जवाफ भने मेरो पानी सही छ आएर चेक गर्नु भन्दै फोन काटियो
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE