सिरहाको सीमामा पुनः लागुऔषध तस्करी प्रयास विफल, झण्डै ६५ किलो गाँजा बरामद
✍️दिनेश सहनी
सिरहा, साउन २६। सिरहाको सीमावर्ती क्षेत्र पटेर्वामा ईलाका प्रहरी माड़रले अवैध लागुऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएका छन्। 
जिल्ला प्रहरी कार्यालय सिरहाको मातहात रहेको ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले गए राती (शनिवार) करिब ९ बजेको समयमा उक्त अवैध लागुऔषध गाँजा नियन्त्रणमा लिएको हो।
ईलाका प्रहरी कार्यालय माडरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक(बरिष्ठ सई) राजिव कुमार तिवारीको कमाण्डमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा सिरहा नगरपालिका–१७ स्थित पटेर्वा गाउँदेखि करिब ३ सय मिटर दक्षिण धान खेतको आलीको बाटो हुँदै भारततर्फ लागिरहेका तीन जना व्यक्तिहरूलाई पछ्याएको थियो।
प्रहरी टोलीलाई देखेपछि ती व्यक्तिहरूले टाउकोमा बोकेको तीन पोका गाँजा फाली दुई जना फरार भएका थिए भने एक जनालाई प्रहरीले घटनास्थलमै नियन्त्रणमा लिन सफल भएको जनाएको छ।
पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, मधुबनी जिल्ला, जयनगर थाना बेलही ग्राम पञ्चायत वडा नं. ६ निवासी बुले मण्डलका छोरा ५५ वर्षीय श्रीचन मण्डल रहेको सिराहा प्रहरीले जनाएको छ।
उनीसँगै बरामद गरिएको तीन पोका गाँजाको तौल झोला सहित ६४ किलो ९ सय ग्राम रहेको र सो लागुऔषधलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको ईलाका प्रहरी कार्यालय माडरले जनाएको छ।
यस घटनामा संलग्न अन्य दुई जना फरार व्यक्तिहरूको पहिचान र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पटेर्वा क्षेत्र भारतसँगको खुला सीमाका कारण लागुऔषध तस्करीका घटना दोहोरिने गरेका छन्। त्यसैले प्रहरीले सीमा क्षेत्रमा निगरानी र गस्ती कडा पार्ने तयारी गरेको जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE