छठ पर्वको दिन सिरहामा विष हालेर पोखरीका २५ क्विंटल माछा मारे — संचालकलाई ७ लाख ५० हजार बराबरको क्षति!
✍️सिरहा समाचारदाता
सिरहा । धार्मिक पर्व छठको अवसरमा श्रद्धा, भक्ति र सफाइको वातावरणमा खलल पार्दै अज्ञात व्यक्तिले सिरहा नगरपालिका–१५ माडर स्थित काली मन्दिर सार्वजनिक पोखरीमा विष हालेर करीब २५ क्विंटल माछा मारेका छन्। यस घटनाले स्थानीय समुदाय र माछा पालन व्यवसायीहरूमा तीव्र आक्रोश फैलिएको छ।

उक्त पोखरी सिरहा नगरपालिका–१५ का दिलीप कुमार सहनीले ठेक्कामा लिएर माछा पालन गर्दै आएका थिए। नगरपालिका सँग माछा पालनका लागि भएको औपचारिक सम्झौता अनुसार सहनीले ठेक्का शुल्क बुझाएर पोखरीमा व्यवस्थित रूपमा माछा उत्पादन गर्दै आएका थिए। तर, छठ पर्वकै दिन बिहान सबेरै छठ घाट सरसफाईको मौका छोपी अज्ञात व्यक्तिले पोखरीमा विष हालिदिएपछि सबै माछा मरेका हुन्।
सहनीका अनुसार, “पोखरीमा साढे दुई टनभन्दा बढी माछा थिए, जसको बजार मूल्य करिब रु. ७ लाख ५० हजार रुपैयाँ पर्थ्यो। तर, विषका कारण पूरै नष्ट भयो। यस्तो क्रूर कार्य धार्मिक पर्वकै अवसरमा हुनु निकै दुःखद र आपत्तिजनक छ,” उनले बताए।

घटनापछि स्थानीय बासिन्दाहरूले कडा विरोध जनाएका छन्। उनीहरूले छठ पर्वको पवित्रता र सामाजिक सद्भावमा चोट पुर्याउने गरी गरिएको यस कार्यको गम्भीर छानबिन र दोषीलाई कठोर कारबाहीको माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले भने, “यो अत्यन्तै निन्दनीय कार्य हो। विष प्रयोग गर्ने व्यक्ति वा समूहको पहिचान गरी कानुनी कारबाही अघि बढाइनेछ।”
स्थानीय नागरिकहरूले पनि यस घटनालाई धार्मिक सहिष्णुता र सामुदायिक सद्भावमाथिको आक्रमणको रूपमा लिएका छन्। माछा पालन व्यवसायमा लागेको युवा वर्गलाई यस घटनाले ठूलो मनोवैज्ञानिक र आर्थिक आघात पुर्याएको बताइएको छ।
“छठजस्तो पवित्र पर्वमा यस्तो अपराध हुनु हाम्रो संस्कृतिमाथिको अपमान हो। तत्काल दोषी पत्ता लगाएर कडा सजाय दिनुपर्छ।”
उक्त घटनाले धार्मिक पर्वमा देखिएको अराजकता र असुरक्षाको गम्भीर चित्र कोरेको छ। अब सम्बन्धित निकायले तत्काल अनुसन्धान गरी दोषीलाई कानुनको कठघरामा उभ्याउने अपेक्षा जनाइएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE