सांस्कृतिक पर्यटन लक्षित वस्तुको उत्पादनमा जोड दिनुपर्छ : राष्ट्रपति भण्डारी
२ चैत्र
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा सांस्कृतिक पर्यटनको ठूलो सम्भावना देखिएको सन्दर्भमा सांस्कृतिक पर्यटक लक्षित वस्तुको उत्पादनमा जोड दिनुपर्ने खाँचो औल्याउनु भएको छ ।
नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले प्राकृतिक स्रोत तथा सम्पदाले भरिपूर्ण नेपालमा रहेका कृषि, जडिबूटी, वन तथा खनिज पदार्थको दीगो उपयोग गर्दै स्वदेशी उत्पादन बृद्धि गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
‘यसबाट आयात प्रतिस्थापन भई व्यापार सन्तुलन हासिल हुने र स्वावलम्बी अर्थतन्त्र निर्माणमा टेवा पुग्ने विश्वास लिएको छु । सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रको सहभागिता र समन्वयमा आर्थिक गतिविधिहरू सञ्चालन गर्दै अघि बढेमा आर्थिक विकासले तीब्रता लिनेछ भन्ने मलाई लाग्दछ,’ उहाँले भन्नुभयो ।
नेपाल चेम्वर अफ कमर्सले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि छुट्टै चेम्बर गठन गरी महिला उद्यमशीलताको विकास गर्न अग्रसर भएकोमा खुशी लागेको राष्ट्रपति भण्डारीले बताउनुभयो । ‘युवा उद्यमीहरूलाई चेम्बरका गतिविधिमा संलग्न गराउन नेपाल युथ चेम्बर गठन गर्नु प्रशंसनीय कार्य हो,’ उहाँले भन्नुभयो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी, बाढी, पहिरो, कोभिड–१९ जस्ता प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई राहत तथा पुनःस्थापना गर्ने कार्यमा चेम्बरले निर्वाह गरेको भूमिकाको राष्ट्रपति भण्डारीले प्रशंसा गर्नुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE