Date
बिहि, भदौ २, २०७९
Thu, August 18, 2022

पाल्पाको रम्भामा मत गणना स्थगित

१ जेठ, पाल्पा- पाल्पा जिल्लाको रम्भा गाउँपालिकाको मत गणना स्थगित भएको छ। वडा नम्बर ५ ताहुँको मतगणना गर्दा ७४ मत फर्जी भेटिएको आरोप लगाउँदै गठबन्धनका दलहरूले स्थगित गर्न माग गरेका हुन्।

शनिबार मत गणना हुँदा यहाँ नेकपा एमालेको प्यानल विजयी भएको थियो। कुल खसेकोभन्दा बढी मत गणना भएको उनीहरूको दाबी छ।

सिसी टिभी जडान नगरिएको, मतपेटिका ढुवानी गर्ने क्रममा गठबन्धन दलका प्रतिनिधि सहभागी नगराइएको, आवश्यक बिजुली बत्ती व्यवस्था नगरिएको, दलका भातृ संगठनमा आबद्ध कर्मचारीलाई प्रयोग गरिएका, मत गणना स्थगित भइसकेपछि पनि दलका प्रतिनिधि नराखिएको, एकपक्षीय व्यक्तिलाई प्रवेश दिइएको, मतपेटिका अँध्यारो र अन्य सामग्री भएका स्थानमा राखिएको गठबन्धन दलले बताएका छन्।

शनिबार सार्वजनिक भएको वडा नम्बर ५ को नतिजाप्रति असहमति जनाउँदै पुनः मतदान गर्न ती दलले माग गरेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र मंगोल नेशनल दलले विज्ञप्ति निकालेर पुनः मतदान गर्न माग गरेका हुन्।

यता नेकपा एमाले रम्भा गाउँपालिकाका अध्यक्ष योगेन्द्र गैरेले खसेको मतको विवरण सही तरिकाले नराखेको हुन सक्ने बताउनुभएको छ । यसबारे छानबिन गरेर यथार्थ बाहिर ल्याउन उहाँको माग छ । फर्जी मत बढी भए नभएको बारे सम्बन्धित निकाय सहित दलका प्रतिनिधि सहभागी गराई छानबिन गर्नुपर्ने उहाँले बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत खड्कबहादुर केसीले फर्जी मत भेटिएको हो वा होइन भन्नेबारे छानबिन हुने बताउनुभयो । यदि भेटिएको अवस्थामा पुनः मत गणना वा पुनः मतदान गर्ने भन्नेबारे टुंगो लाग्ने उहाँको भनाइ छ ।

के गर्ने भन्ने बारेमा जिल्ला स्तरका दलका नेताहरुसँग छलफल भइरहेको केसीले बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE