Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

भारतमा एकै दिन चार लाखमा कोरोना संक्रमण

१९ बैशाख, काठमाडौँ – भारतमा कोरोनाभाइरसबाट थप झण्डै चार लाख मानिस संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४ सय ८८ जनालाई कोरोनाभाइरसको संक्रमण भएको हो ।

यसअघि हिजो एकै दिन सबैभन्दा धेरै चार लाखभन्दा बढी संक्रमित भएका थिए । आइतबार सार्वजनिक गरिएको सङ्ख्या अघिल्लो दिनको भन्दा केही कम हो ।

भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक करोड ९५ लाख ५७ हजार ४ सय ५७ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६ सय ८९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या दुई लाख १५ हजार ५ सय ४२ पुगेको छ । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरु मध्ये ३३ लाख ४९ हजार ६ सय ४४ अहिले पनि संक्रमित अवस्थामै रहेका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन लाख सात हजार ८६५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको सङ्ख्या एक करोड ५९ लाख ९२ हजार २ सय ७१ पुगेको अधिकारीहरुले जनाएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म २९ करोड एक लाख ४२ हजार ३ सय ३९ पटक स्वाब परीक्षण गरेको छ भने पछिल्लो एक दिनमा मात्रै १८ लाख चार हजार ९ सय ५४ जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म १५ करोड ६८ लाख १६ हजार ३१ ओटा खोप प्रयोग भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE