Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

पार्वतीले भनिरहिन्, छोरी हो, काठमाडौं जाने हो आऊ, म मेरो सास दिन्छु नि :

घान्द्रुक दुर्घटनामा दुई छोरी गुमाउनुभएकी पार्वती चौधरी।

२६ आश्विन, काठमाडौं – सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षअगाडि एक जना महिला चिच्याउदै हुनुहुन्थ्यो। अर्का पुरुष आफूलाई सम्हाल्दा सम्हाल्दै बीचबीचमा डाँको छाड्दै रुदै हुनुहुन्थ्यो।

आकस्मिक कक्षभित्र आठ जनाको शव लस्करै राखिएको थियो। सोमबार दिउँसो घान्द्रुक जाँदै गरेको गाडी दुर्घटनामा ज्यान गुमाउनेहरूको पोष्टमार्टम गर्न स्वास्थ्यकर्मी व्यस्त थिए।दुर्घटनामा ज्यान गुमाएका २४ वर्षीया सुजा चौधरी बिएससी नर्सिङ चौथो वर्षमा अध्यनरत थिइन्।

उहाँकी बहिनी २० वर्षीया लिजा पनि कान्तिपुर डेन्टल कलेजमा बिडिएस पढ्दै थिइन्। घान्द्रुक दुर्घटनामा उनीहरू दिदीबहिनी नै परे। आमा पार्वती र बुबा बाबुरामका सन्तान यी दुई छोरी मात्र हुन्।

दुर्घटना भएको खबर पाउनासाथ उनीहरू हेलिकप्टर चार्टर गरेर पोखरा झरे। दुर्घटनामा दुवै छोरी गुमाएको आमा पार्वतीलाई थाहा थिएन। छोरी दुर्घटनामा परेको खबरले मात्रै पनि उहाँ आत्तिरहनुभएको थियो। अस्पतालको आकस्मिक कक्षअगाडि असह्य पीडा पोखिरहनु भएको थियो।

जन्माउँदा मेरो कोख दुखेन, हाँसीहाँसी दुवै छोरी जन्माएकी थिएँ,ु पार्वती एक्लै बर्बराउँदै हुनुहुन्थ्यो, आज मेरो शरीर भतभती पोलेको छ। मेरी डाक्टर छोरी, आऊ छोरी म तिम्रो हात चुम्छु। पार्वती क्यान्सर रोगी हुनुहुन्थयो। उहाँको उपचारमा पनि नर्सिङ पढ्दै गरेकी छोरी सुजा खटिएकी थिइन्।

पार्वतीको घर चितवनको सौराहा हो। तर लामो समयदेखि काठमाडौं बस्दै आउनुभएको थियो। उहाँहरू कपडाको व्यापार गर्नुहुन्छ। व्यापार क्रममा एक महिनाअघि भारत जानुभएको रहेछ। नेपाल फर्केको जम्मा दुई साता भएको रहेछ।

म नेपाल आउँदा वेलकम ममी भनेका थियौ। सपिङ गर्दिनू, हामी घुम्न जान्छौं भनेका थियौ। सपिङ गरिदिएँ, आज तिमी कहाँ छौ छोरी,ु बेहोसीमै पार्वतीले भनिन्। आमा पार्वतीले श्रीमान बाबुरामलाई बारम्बार गुनासो गरिरहनुभएको थियो।

छोरीहरूसँग घुम्न जान पार्वतीले आग्रह गरीरहनुभएको थियो। उहाँले श्रीमानलाई भन्नुभयो, मैले भनेथेँ नि तपाईंलाई, छोरीहरूको गार्जियन, सँगै जानु भनेर। सुजा र लिजासहित काठमाडौंबाट अरू चार जना सँगै आएका थिए।

जसमध्ये १८ वर्षीय जिनलव घिसिङ र उनकी २० वर्षीया दिदी देविका घिसिङ पनि थिए। उनीहरू सँगसँगै आइतबार पोखरा आएका थिए। यस्तै काठमाडौं– ३ गोंगबु बस्ने २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले, गोरखा घर भई गोंगबु बस्ने विनय क्षेत्री, २० वर्षीय सुमन चोधरी अर्को समूहमा पोखरा घुम्न आएका थिए।

घान्द्रुक दुर्घटनामा परेको गाडी

यी दुवै समूहको भेट पोखराबाट घान्द्रुक जाने बेला गाडीमा भएको थियो। उनीहरूलाई कास्कीकै अन्नपूर्ण– ५ नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्रीले गाडीमा राखेर लगेका थिए। नयाँपुलबाट ग १ ज ६९०० नम्बरको गाडी घान्द्रुकतर्फ उकालो लाग्यो। कच्ची बाटोमा ढुंगा बिच्छ्याउने काम भइरहेको थियो।

कामदारले गाडी रोक्न लगाए। उकालोमा रोकेका कारण गाडी अडिन सकेन। पछाडितर्फ गुड्न थाल्यो र झन्डै दुई सय मिटर तल मोदी खोला किनारमा खस्न पुग्यो। उकालोमा रोकिएको गाडी पछाडितर्फ गुड्दा आफैं अनियन्त्रित भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ।

दुर्घटनामा परेर चालकसहित आठ जनाले ज्यान गुमाए। दुर्घटनाबाट एक जना देविका घिसिङ बाँच्न सफल भइन्। उनको बाँया हात र नाकमा चोट लागेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताउनुभयो।

देविका गाडीको पछाडि बसेकी थिइन्। गाडी गुल्टिँदै जाँदा उनी गाडीबाट बाहिर हुत्तिइन् र एउटा रुखमा पुगेर अड्किन्। यसरी आफ्नो ज्यान जागिएको देविकाले बताएकी छन्। उनीसँगै आएका भाइ जीनलव भने जोगिन सकेनन्।

सुजा र लिजाकी आमा पार्वतीको बिलौना रोकिएको छैन। उनलाई अस्पतालको आकस्मिक कक्ष बाहिर नै राखिएको छ। छोरीको उपचार भइरहेको भनेर आफन्तले थामेका छन्। बेलाबखत जोडतोडले अस्पतालभित्र छिर्न खोज्छिन्। आफन्तले रोकेर राख्छन्। उनी बर्बराउन छाडेकी छैनन्।

पार्वतीले भनिरहिन्, छोरी हो, काठमाडौं जाने हो। आऊ, म मेरो सास दिन्छु नि।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE