Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

एनपीएलको दोस्रो संस्करण आजबाट, पहिलो खेलमा जनकपुर–काठमाडौँ भिड्ने

काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो संस्करण नेपाली क्रिकेटका लागि संरचनागत र दर्शक अनुभव दुवै हिसाबले ऐतिहासिक मानिँदैछ।
यसपटक रंगशालामा १० हजार दर्शक क्षमता हुने प्यारापिट निर्माण गरिएको छ भने ६ वटा आधुनिक फ्लडलाइटसमेत जडान भइसकेका छन्। गत संस्करण सामान्य मैदानमा सीमित रहेको स्मरण हुँदै गर्दा यसपटकको भौतिक तयारीप्रति खेलाडीदेखि क्रिकेट समर्थकसम्म उत्साह देखिन्छ।
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र घरेलु टोली काठमाडौं गोर्खाज आज अपरान्ह ४ बजे आमनेसामने हुँदैछन्। पहिलो खेलका टिकटहरू सर्लक्कै बितिसक्नेक्रमले समर्थकको प्रतीक्षा र आकर्षण स्पष्ट झल्काएको छ। गत संस्करणको फाइनलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो, र सोही प्रदर्शन दोहोर्‍याउने लक्ष्यमा उनीहरू उत्शाहित छन्।
यता, गत संस्करण पाँचौँ स्थानमा सीमित भएको काठमाडौं गोर्खाजले यसपटक जर्सीदेखि लोगो, विदेशी खेलाडीदेखि प्रशिक्षकसम्म ठूलो पुनर्संरचना गरेको छ। टोली व्यवस्थापनले “नयाँ सुरुवात” का रूपमा यसलाई प्रस्तुत गरेको छ।

फ्लडलाइट परीक्षण सफल
फ्लडलाइटको सफल परीक्षणसँगै नेपाली क्रिकेट इतिहासमै पहिलोपटक एकै प्रतियोगितामा राति खेल सञ्चालन सम्भव बनेको छ। शहरी विकास मन्त्रालयले रंगशाला क्यानलाई औपचारिक रुपमा हस्तान्तरण गरेसँगै सम्पूर्ण तयारी पूर्ण भएको जनाएको छ। ३२ खेलमध्ये २३ खेल—१९ लिग, ३ प्लेअफ र फाइनल—रातिकै समयमा हुनेछन्।
नेपालमा फ्लडलाइट खेलको नयाँ युग
फ्लडलाइटमा खेल्न पाउने अवसरलाई नेपाली क्रिकेटरहरूले करिअरको “नयाँ अध्याय” को रूपमा लिएका छन्। देशभरका समर्थकले पनि यस क्षणलाई नेपाली क्रिकेटको विकासका लागि महत्वपूर्ण कदमका रूपमा हेरेका छन्।
आज जनकपुर र काठमाडौँको भिडन्त केवल उद्घाटन खेल मात्र होइन, नेपाली क्रिकेटको आधुनिकताप्रति उठेको कदमको प्रतीक पनि बन्न पुगेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE