Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

मंसिरभरि नेकपाको एकता सन्देश सभा: प्रदेशदेखि पालिकासम्म व्यापक कार्यक्रम

काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिर महिनालाई ‘एकता अभियान’का रूपमा देशव्यापी रूपमा सञ्चालन गर्ने भएको छ ।

पार्टीले प्रदेश, जिल्ला र पालिका तीनै तहमा क्रमिक रूपमा एकता सन्देश सभा आयोजना गर्ने निर्णय गरेको हो । जसमा केही कार्यक्रमको मिति र मोडालिटी परिस्थितिअनुसार फेरबदल हुन सक्ने तर मूल ढाँचा भने यथावत रहने उक्त पार्टीले जनाएको छ ।

प्रदेशस्तरीय सभाः मंसिर ९ देखि १४ गतेसम्म लगातार

पार्टीले पहिलो चरणमा सातै प्रदेशमा प्रदेशस्तरीय सभा राखेको छ । कार्यक्रम मंसिर ९ गते सुदूरपश्चिमबाट सुरु भएर क्रमशः कर्णाली, लुम्बिनी, गण्डकी, मधेश हुँदै मंसिर १४ गते १ नम्बर प्रदेशमा सम्पन्न हुनेछ । बागमती प्रदेशको मिति भने पछि तय गर्ने निर्णय भएको छ ।

प्रदेश अनुसार कार्यक्रम यस्तो छः

सुदूरपश्चिम प्रदेश — मंसिर ९

कर्णाली प्रदेश — मंसिर १०

लुम्बिनी प्रदेश — मंसिर ११

गण्डकी प्रदेश — मंसिर १२

मधेश प्रदेश — मंसिर १३

कोशी प्रदेश — मंसिर १४

बागमती प्रदेश — मिति पछि तय हुने

पार्टीले प्रदेशसभालाई संगठनात्मक एकता, भावनात्मक एकता, वैचारिक स्पष्टता र आगामी राजनीतिक रणनीतिसँग जोडेर हेरेको छ ।

जिल्लास्तरीय सभाः मंसिर १३ देखि २० सम्म एकैदिन एकै प्रदेशका सबै जिल्लामा

दोस्रो चरणमा पार्टीले सातै प्रदेशमा जिल्लास्तरीय एकता तथा सन्देश सभा आयोजना गर्नेछ । यी कार्यक्रम प्रदेशको आधारमा ‘एकैदिन सबै जिल्लामा’ संचालन गरिने छन् ।

बागमती प्रदेश — मंसिर १३

सुदूरपश्चिम प्रदेश — मंसिर १५

कर्णाली प्रदेश — मंसिर १६

लुम्बिनी प्रदेश — मंसिर १७

गण्डकी प्रदेश — मंसिर १८

मधेश प्रदेश — मंसिर १९

१ नम्बर प्रदेश — मंसिर २०

पालिका स्तरः देशभरि एकैदिन, मंसिर २७ मा बिशाल प्रदर्शन

एकता अभियानको तेस्रो चरणमा देशभरका सबै स्थानीय तह अर्थात ७५३ वटै पालिकामा एकैदिन एकता सन्देश सभा हुने भएको छ । मंसिर २७ गते आयोजना हुने यो कार्यक्रमलाई पार्टीले “संगठनिक रूपान्तरणको आधारभूत तह” का रूपमा व्याख्या गरेको छ ।

यस दिन वडास्तर र जनसमुदायसम्म एकताबारे प्रत्यक्ष संवाद, स्थानीय संरचना पुनर्सञ्चालन, संगठन विस्तार र आगामी रणनीतिबारे जनसंपर्क अभियान केन्द्रित हुने बताइएको छ ।

मंसिर महिनाभरि चल्ने एकता सन्देश सभा कार्यक्रमले नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ ऊर्जा दिने अपेक्षा गरिएको नेकपाले जनाएको छ । प्रदेशदेखि पालिका तहसम्म व्यापक रूपमा संगठित यो अभियान सफल भएमा, पार्टी आगामी राजनीतिक प्रतिस्पर्धामा मजबूत रूपमा प्रस्तुत हुने अनुमान उक्त पार्टीका नेताको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE