सरकारको साँचो जसपाको हातमा, ओलीलाई हटाउन कांग्रेससँग पर्याप्त संख्या पुगेन
१७ बैशाख, काठमाडौं-सरकार पूनर्गठन गर्न गनक संख्या नपुगेको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भयो । नयाँ सरकार निर्माण गर्ने निर्णय भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन संसद्मा अझै पर्याप्त संख्या नपुगेको बताउनु भएको हो ।
कोरोना संक्रमणको संकट र रोकथामबारे अपिल गर्न देउवा निवास बुढानीलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले यस्तो खुलासा गर्नुभएको हो । नेता देउवाले ओलीलाई हटाउनका लागि अहिलेसम्म भरपर्दो विकल्प नभेटिएको बताउनुभयो । कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय भइसकेको छ । तर संसद्मा संख्या त पुग्नु पर्यो नि । संख्या नपुगी चाहेर मात्रै हुँदैन सभापति देउवाको भनाई छ ।
देउवाले संसदको अंकगणित अनुकुल नभएका कारण अविश्वासको प्रस्ताव ल्याउन नसकिने बताउनु भयो । उहाँले अहिलेसम्म माओवादीले समर्थन फिर्ता नलिएको र जसपाले अहिलेसम्म निर्णय नगरेकै कारण पनि अविस्वासको प्रस्ताव ल्याउन अनुकुल नभएको जिकिर गर्नुभयो ।
कांग्रेसले चैत २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो। तर संसदको अंकगणित अनुकुल नभएकोले अहिलेसम्म कांग्रेस अघि बढ्न सकेको छैन। माओवादी र कांग्रेस तयार भए पनि जसपाले निर्णय नगर्दा वैकल्पिक सरकार बनाउने योजना अन्योलमा परेको छ।
अहिले प्रधानमन्त्री बन्न १ सय ३६ सांसदको समर्थन चाहिन्छ । संसदमा एमालेका १ सय २०, कांग्रेसका ६०, माओवादी केन्द्रका ४८ र जसपाका ३४ सांसद छन् । तीनजना स्वतन्त्र हैसियतमा छन् । जसपाको सहयोगले ओली पनि सुरक्षित हुनेछन् भने उसको साथ पाएमा नयाँ सरकार निर्माण पनि सहज हुनेछ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE