अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने घोषणा
२१ जेठ, काठमाडौँ – नेपालले अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गतको अनुदानबाट कोरोनाविरुद्धको खोप पाउने भएको छ । अमेरिकी सरकारले बिहीबार घोषणा गरेबमोजिम एसिया क्षेत्रका मुलुकलाई वितरण गर्ने ७० लाख मात्रा खोपमध्येबाट नेपालले कोभ्याक्स सुविधाको खोप पाउने भएको हो ।
केही समयअघि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुहँुदै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेख्नुभएको थियो । सोही अनुरोधका आधारमा नेपालले अमेरिकाबाट खोप पाउन लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालले अमेरिकासँग ५० लाख मात्रा खोपको अपेक्षा गरेको छ तर हाल घोषणा गरिएअनुसारको कोभ्याक्स अनुदानबाट त्यो सबै मात्रा आउन सक्ने सम्भावना कम रहेको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “एसियाका १६ देशका लागि ७० लाख मात्रा खोप दिने भनिएको छ, यसमा हामीले कति पाउँछौँ भन्ने कुरा अमेरिकाले स्पष्ट भनिसकेको अवस्था तत्काल छैन ।” तर नेपालले अनुरोध गरेअनुसारको ५० लाख मात्राको खोप ढिलो चाँडो आउँछ भन्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । नेपालले सबै नागरिकलाई खोप लगाउने योजनाअनुसार मित्रराष्ट्रबाट खोप ल्याउने अभियानमा राष्ट्रपति र नेपाल सरकारबाट पहल भइरहेको छ ।
अमेरिकासँग थप पहलमार्फत थप खोप ल्याउनसमेत गृहकार्य जारी रहेको ढकालले बताउनुभयो । तत्काल कोभ्याक्स अनुदानमा अमेरिकाले दिने घोषणा गरेको खोप आगामी तीन–चार दिनभित्र आइपुग्ने अनुमान गरिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE