Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

बौदीकाली गाउँपालिकामा बसाइँ आउनेलाई ३० हजार भत्ता

काठमाडौं । बसाइँसराइले गाउँ रित्तिन थालेपछि जिल्लाको विकट गाउँपालिका बौदीकालीले नयाँ जुक्ति निकाल्यो– अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो बस्तीमा रहन चाहनेलाई २५ र पातलो बस्तीमा बस्न चाहनेलाई ३० हजार रुपैयाँ । साविकका ५ गाविस गाभेर बनाइएको बौदीकाली पूर्वी नवलपरासीका आठमध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो । सुविधा र कामको खोजीमा अन्यत्र बसाइँ जाने बढेपछि गाउँसभाबाट पारित गरेर अन्य स्थानीय तहबाट बस्न आउनेलाई भत्ता दिने व्यवस्था लागू गरिएको गाउँपालिकाका अध्यक्ष गाउँँपालिका अध्यक्ष दुर्गाबहादुर राना मगरले बताए ।

‘जग्गाधनी पुर्जा भएकाहरूसमेत खेतबारी बाँझै राखेर अन्यत्र बसाइँ गएपछि जनघनत्व घटयो, बस्ती रित्तिँदै गयो,’ उनले भने, ‘यस्तो उपाय अपनाउन बाध्य भयौं ।’ उनले सबै वडाध्यक्षको सल्लाहमा यस्तो निर्णय लिएको जनकारी गराए । ‘नयाँ आउनेलाई स्वागत गर्न यो उपाय उपयुक्त ठान्यौं,’ उनले भने । गाउँपालिकाको आम्दानी बढदै गए भत्ता पनि बढाउँदै लैजाने योजना रहेको गाउँपालिका प्रमुख राना मगरले सुनाए ।

पहाडमा सुविधा नभएका कारण गाउँ छाडेर हिँड्ने र बस्ती रित्तो हुने खतरा देखेपछि यस्तो निर्णय भएको हो । ‘पढ्ने राम्रो विद्यालय छैन, उपचार गर्ने अस्पताल छैन । रोजगारी छैन । गाउँमा बस्न कोही मान्दैमान्दैन,’ उनले भने । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीका अनुसार वडा नं। २ को डेढगाउँमा बसाइँसरी आउनेलाई २५ हजार र वडा नम्बर ४ रुचाङ, ५ को बोबोक, ६ को नरममा बसाइँसरी आउनेलाई ३० हजार रुपैयाँ भत्ता दिने निर्णय भएको छ । त्यस्तै बौदीकाली–१ मिथुकरम र बौदीकाली–३ रकुवामा बसाइँसरी आउनेलाई पनि प्रतिपरिवार ३०र३० हजारका दरले प्रोत्साहन भत्ता दिइनेछ ।

 

गाउँ रित्तिन नदिन धेरै सन्तान जन्माउने र गाउँ नछाड्नेलाई भत्ता दिनुपर्ने अवस्था आइसकेको स्थानीय सोम सारुले बताए । त्यस क्षेत्रका प्रदेशसभा सांसद विष्णु लामिछानेले बसाइँसराइ रोक्न केन्द्र, प्रदेश र स्थानीय तहले फरक–फरक सुविधा दिनुपर्ने बताए । ‘पहाडमा कृषि पेसा अवलम्बन गर्नेलाई विशेष नगद दिने र ५ वर्ष खेतीपातीमा समय बिताउनेको परिवारबाट कम्तीमा एक जनालाई आकर्षक मुलुकमा सरकारले नै विदेश पठाउन लगानी गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।

 

१५ वर्षअघि ११ हजार जनसंख्या रहेको यो गाउँपालिकामा अहिले पनि १५ हजार ७ सय ३४ जनसंख्या छ । गाउँपालिकामा ९१ प्रतिशत जनसंख्या मगर समुदायको छ । तनहुँसँग सिमाना जोडिएको र नवलपरासीको विकट पहाडी यो गाउँपालिकामा उच्च शिक्षा अध्ययन गर्ने कलेज छैन । कान्तिपुरबाट

WRITE COMMENTS FOR THIS ARTICLE