पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सिग्नेचर मनाङ मर्स्याङ्दी द्धारा रुस्लान थ्री स्टार पराजित
पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले रुस्लान थ्री स्टार क्लबलाई पराजित गरेको छ । बिहिबार भएको खेलमा मनाङले थ्री स्टारलाई २ १ गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङका लागि अन्जन बिष्टले एक गोल गर्दा मनाङले एक आत्मघाती गोल उपहार पाएको थियो । थ्री स्टारका रञ्जित धिमालले त्यसको प्रतिउत्तरमा एक गोल फर्काए ।
खेलको ११ औं मिनेटमा अन्जन बिष्टले उत्कृष्ट गोल गर्दै मनाङलाई १ ० को अग्रता दिलाए । हेमन गुरुङको पासमा अन्जनले सेकेण्ड बार च्याप्दै उत्कृष्ट गोल गरेका थिए ।
त्यसपछि खेलको १९ औं मिनेटमा थ्री स्टारका विजय धिमालले आत्मघाती गोल गरे । थ्री स्टारका किपर एलेन न्यौपानेले क्लियर गर्न खोजेको बल विजयलाई लाग्दै गोलमा परिणत भएको थियो ।
खेलको ८५ औं मिनेटमा रञ्जितले पेनाल्टीमा गोल गर्दै थ्री स्टारलाई २ १ को स्थितिमा ल्याए । मनाङका मोहमद आसिफले थ्री स्टारका अजिज मार्टिनलाई पेनाल्टी बक्समा तानेर फल गरेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो ।
जितसंगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिगमा शत प्रतिशत जित निकाल्ने क्रममा मनाङले ३ खेलबाट ९ अंक जोडेको छ । मनाङले थ्री स्टारलाई नै पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो स्थानको थ्री स्टारको ३ खेलबाट ६ अंक छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE