मेलम्ची खानेपानीको सुरुङ आज परीक्षण गरिँदै
१० फागुन
काठमाडौं – बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज परीक्षण गरिँदै छ। साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले सुरुङ निर्माणको सम्पूर्ण काम पूरा गरेपछि पानी हालेर परीक्षण गरिन लागिएको छ ।
आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम गरेर आजदेखि पानी भर्न शुरु गरिने छ। कार्यक्रममा खानेपानीमन्त्री मणि थापा पनि सहभागी हुने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनु भएको छ ।
पन्तका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्ने छ।
गत वर्ष असारमा सुरुङमा पानी भनेर परीक्षण गर्दा सुरुङको गेट फुटेर दुर्घटना भएको थियो। घटनामा आयोजनाका एक इन्जिनीयर र चालकको मृत्यु भएको थियो। चालकको शव अझै फेला परेको छैन।
त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक ९एडीबी० को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो। ‘विशेषज्ञहरुबाट निरीक्षण भयो। उनीहरुका महत्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयारी गरिएको हो,’ आयोजनाका कार्यकारी निर्देश तिरेश खत्रीले भने।
विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको छ। परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौँस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ।
खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । शुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उनले बताए। रासस
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE