Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

कृषि विकास बैंकको रकम चोरी प्रकरणमा बैंकको एक्सनः कर्मचारी निगरानीमा, छानबिन समिति गठन, ह्याक होइन चोरी हो : बैंक

काठमाडौं–कृषि विकास बैंकको लहान शाखाबाट रकम चोरी भएपछि बैंकले छानबिन थालेको छ । प्रहरीले रकम चोरीमा संलग्न रहेको आरोपमा ११ जनालाई पक्राउ गर्दा बैंकले पनि आन्तरिक छानबिन थालेको हो ।

लहान कार्यालयमा रहेका सबै कर्मचारी परिवर्तन गरि नयाँ पठाइएको छ । यस्तै बैंकका बिनोद कोइरालाको संयोजकत्वमा ४ सदस्सीय छानबिन समिति गठन गरि आन्तरिक छानबिन थालिएको बैंकले जनाएको छ ।

बैंक चोरी हुँदा शाखा कार्यलयमा रहेका कर्मचारीलाई मुख्य निगरानीमा राखेर छानबिन थालिएको बताइएको छ । रकम चोरी हुँदा बैंकको लहानका ब्रान्च मेनेजरमा रामसेवक यादव हुनुहुन्थ्यो । उहाँकै युजरनेम र पासवर्ड प्रयोग गरी त्यही सिस्टमबाट रकम ट्रान्जेक्सन भएको पाइएको छ । सोमबार र मङ्गलबार बैङ्कबाट अस्वभाविकरुपमा ट्रान्जेक्सन भएको पाइएपछि बैङ्कले तत्कालै प्रहरीलाई खबर गरेको थियो । त्यसलगत्तै खटेको प्रहरीले पैसा निकाल्दै गरेका दुई जनालाई नियन्त्रणमा लिएको थियो भने उनीहरुले दिएको बयानको आधारमा अन्यलाई पनि नियन्त्रणमा लिइएको थियो ।

बैङ्कको लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा रकम पठाइएको थियो । बैंक म्यानेजर यादव बैंको कामले काठमाडौँमा नै रहेकोबेला उहाँको एकाउन्ट प्रयोग गरिएको थियो ।

बैङ्कको बैङ्किङ सिस्टम ह्याक नभई मिलेमतोमा रकम चोरी भएको बैंकले आसंका गरेको छ । बैंकको कोर बैंकिङ सिस्टम प्रयोग गरी त्यहाँ रहेको नाफा रकम विभिन्न व्यक्तिको खातामा ट्रान्सफर गरिएको हो । कर्मचारीकै मिलेमतोमा उक्त रकम ट्रान्सफर भएको हुनसक्ने प्रहरीको भनाई छ । बैंक कर्मचारीकै युजरनेम र पासवर्ड प्रयोग गरी रकम ट्रान्सफर गरिएकाले यो ह्याक नभई चोरी भएको बैंकले जनाएको छ । कृषि विकास बैङ्कमा भएको रकम चोरीमा ग्राहकको पैसा चोरी नभएको बैंकले जनाएको छ । ग्राहकको रकम रहने सिस्टम प्रयोग नगरिएको र बैङ्ककै नाफा नोक्सानको खाताबाट नाफा रकम अरुको खातामा पठाइएको हो । यसकारण ग्राहकले कुनै चिन्ता लिनु नपर्ने प्रहरी र बैंक स्रोतको दाबी छ ।

प्रहरीका अनुसार एकै व्यक्तिले ४ करोड ८८ लाख रुपैयाँ ट्रान्सफर गर्न खोजेको देखिन्छ ।  जसमा ३ करोड ४ लाख सिस्टमबाट एकाउन्टमा ह्याक गरेर ट्रान्सफर गरिएको देखिएपनि ६० लाख मात्रै निकालेको देखिएको छ । सो पनि पक्राउ परेका ११ जनाबाट बरामद गरिसकिएको प्रहरीले जनाएको छ ।

लमजुङ दोदी गाउँपालिकाका विद्यासागर लामिछाने, पक्राउ पर्नेमा नुवाकोटको मेघाङ गाउँपालिका ४ का लवङ तामाङ, सर्लाहीका पुष्पराज खड्का, काठमाडौं ताकेश्वरका सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, तारकेश्वरकै लक्ष्मी लामा तामाङ, लक्ष्मी श्रेष्ठ र  श्रवण कुमार श्रेष्ठ रहेका छन् । यसैगरी कैलालीको भजनीका विजय कुमार शाह र भारत कलकताका शुभन्कर पन्जापनि पक्राउ परेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE