आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दै
९ आश्विन, काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । शनिबार भएको बैठकमा राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदन माथिको छलफल सकिएको छ।
ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा १० समूहमा विभाजित टोली नेताले शनिबार समूहगत छलफलपछि आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले टोली नेताबाट समाजवादको आधार निर्माणलाई पार्टीको कार्यदिशाको रूपमा अगाडि बढाउनुपर्छ भन्ने र विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने कार्यभार एमालेले पूरा गर्नुपर्ने सुझाव आएको बताउनुभयो।
७० वर्षे उमेरहद पनि कायम गरेर जानुपर्ने अधिकांशको सुझाव रहेको थियो । आज बस्ने बैठकले प्रतिवेदनमा आएका सुझावको आधारमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनुहुने छ।
ती प्रतिवेदन आजै पारित गर्ने एमालेको तयारी छ । शुक्रबारदेखि शुरु भएको बैठकमा भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले शनिबार तीनवटै प्रतिवेदनमाथि समूहगत छलफल गर्नुभएको थियो ।
आज प्रतिवेदन पारित गरिएपछि असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेश पेश गर्ने तयारी छ। एमालेले गोदावरीमा विधान महाधिवेशन राखेको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE