Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

आज प्रेम दिवस तिमीलाई नयाँ जीवनको हार्दिक मंगलमय शुभकामना !

प्रिय कमरेड छोटो जीवनको लामो सम्झना ।।।

प्रिय कमरेड हाम्रो मिलन भएको हिजो फागुन १ गते २३ वर्ष पुरा भएछ । यो नयाँ २४औँ वार्षिकोत्सव हामीले सगैँ मनाउन पाएनौ, म अत्यन्तै दुखी र अभागी पनि छु । हो कमरेड तिमीले मैले २३ वर्ष अगाडी एक सुन्दर सपना देखेर, एक न्यायीक सपना देखेर प्रेम गर्यौ । तिम्रो र मेरो प्रेम वैवाहिक सम्बन्धमा गाँसिने सन्तान उत्पादन गर्नुमा थिएन । हाम्रो प्रेम अन्याय अत्याचारमा परेका ती शोषित पिडित जनसमुदाय, सदियाैँ देखि उत्पीडनको सिकार बनेका ती उत्पीडित वर्ग, एकछाक भोकै सुत्ने ती मजदुर, किसान र सर्वहारा श्रमजीवी वर्गको मुक्तिकालागी थियो । हाम्रो मिलन ती मुक्तिकामी जनसमुदायको राज्यसत्ता स्थापना गर्दै, दलाल नोकरशाह,पुँजीपति र शोषक वर्गका् अन्त्य थियो । हाम्रो जस्तै प्रेममा देशका लाखाैँ जनताहरु लामबद्ध भए जुन हाम्रो मिलन सफल बनाउन । हाम्रो प्रेमको पछाडी देशनै दौडियो । झन्डै १७ हजारले हाम्रो प्रेमको लक्ष्यको खातिर बलिदान दिए, हजाराैँ प्रेमी योद्धाहरु अङ्गभङ्ग र घाइते भए ।  आफ्नो जीवनको वलिदान गरे कि हाम्रा सुन्दर सपनाको निम्ति ।

प्रिय कमरेड प्रेम पनि त स्वार्थी हुँदोरहेछ । खै कसरी वर्णन गरौँ हाम्रा ती सुन्दर दिनहरु, ती हाम्रा सुन्दर सपनाहरु, हो आज भताभुङ्ग भएका छन । हाम्रो प्रेमलाई आर्दश ठान्नेहरु आज जीउदो लाससरी जीवन विताएका छन । बदलामा हाम्रो मिलन असफल बनाउन खोज्नेहरु आज खिसीटिउरी गरीरहेका छन । उनीहरुको लागी हामी हाँसोका पात्र बनेका छौ । प्रिय कमरेड मैले सोचेको थिए कि हाम्रो मिलन जुनीजुनीसम्म होस र हुन्छ तर दुई दशक नवित्दै हामी विछोडिएका छौ । तिमीले कसम खाएका थियौ कि हजारौँ जुनीसम्म साथ दिन्छु तर तिमी निस्ठुरी बन्यौ । जव शान्ति प्रक्रियामा हामी अवतरण भयौँ मलाई अलिअलि तिम्रो मायामा  शंका नउब्जेको होइन तर तिमीले आश्वासन दिदै भन्थ्यौ प्रिय प्रेम सधैँ एकै नासले हुदैन, प्रेम गर्ने तरिका फरकफरक हुन्छन भन्दै चीन, रुस, पेरु आदिको उदाहरण दिदै फकाउथ्यौ ।

मलाई पनि हो जस्तो लाग्थ्यो तर तिमी दिन प्रतिदिन पराईसगँको हेलमेलमा, धनीसुखीको प्रेममा फस्दै गयौ । म प्रति तिम्रो हेराई, व्यवहार फरक हुदै गएजस्तो लाग्न थाल्यो । यहीविचमा तिम्रो मेरो संसर्गबाट केही सन्तानहरु जन्मिए । हो प्रिय मैले सोचेकै थिएन तिमी हामी यसरी सन्तान जन्माउला ऐस आरामको जीन्दगी विताउला तर परिस्थिति उल्टो भैदियो । यस्तै परिस्थितिले तिमीलाई चुडाएर मलाई एक्लो बनायो । हुनत ती हाम्रा सन्तानहरुले मलाई माया नगर्ने होईनन । केही कलङ्कै भएपनि केहीले औधी माया गर्छन तर टुहुरा छन । जिम्मेवारी लिने आट नगरेका होइनन तर आलाकाचाँ अनि कलिलै छन ।

प्रिय कमरेड, मलाइ लाग्छ कि तिम्रो र मेरो पुर्नमिलन साहेद अव सम्भव छैन । पहिलो दोस्रो संविधान सभाको चुनाव सम्म त मलाई लाग्थ्यो अझै केही आशा गराँै तिम्रो माया र्फकिन्छ कि तर अहं त्यो सम्भव भएन । जव स्थानीय चुनाव हुदै संसदीय चुनावसम्म आउदा त तिमी नयाँ दुलाह बनेर मण्डपमा आलिसान भयौ । तिमी पराईको हातमा पर्यौ, पराईसँगको लगनगाँठोमा कस्सियौ कहिल्यै नर्फकने गरी । प्रिय कमरेड त्यो बेला मलाई पिडाबोध नभएको होइन आत्माहत्या मात्रै गर्न सकेन र पनि आफैलाई समालेर पुन. प्रण गरे कि यो भौतिकवादी संसारमा एउटा योद्धा कसो नमिल्ला र । मनलाई मुटुलाई दहृो वनाएर पुन. हिजो तिमीसँग देखेका ती सुन्दर सपनाहरु नयाँ योद्धाको साथमा रहदाँ पुरा गर्ने अठोटका साथ अगाडी बढीरहेकोछु । लाग्छ त्यो योद्धा छिट्टै भेटिनेछ ।

प्रिय कमरेड अन्त्यमा यही शुभकामना दिन्छु तिमी ऐसआरामको जीन्दगीमा रमाईरहेका छौ त्यो जीवन अझै सुखमय होस, फलोस फूलोस समृद्धितिर लम्कीरहोस, तिमी जोसगँ लगनगाँठोमा कस्सीएका छौ त्यो जीवन भरी रहिरहोस कि मलाई आधा बाटो मै छोडेर न घरको न घाटको बनाए झै नबनाउनु । तिम्रो दाम्पत्य जीवनको मंगलमय शुभकामना ।।। लालसलाम ।। अभिवादन ।।।

उही तिम्रो विछोडी प्रेमी
जनयुद्ध

भुपाल सिंह ठकुरी
सुर्खेत

WRITE COMMENTS FOR THIS ARTICLE