Date
सोम, जेष्ठ ३१, २०७८
Mon, June 14, 2021

३० वर्ष पुराना जेटस्ट्रिम जहाज किनेर चलाउँदै सिम्रिक एयर

१४ फागुन
काठमाडौं –
यती एयरलाइन्सले ०७० मा पाँच थान पुराना जेटस्ट्रिम जहाज ५ वर्षभित्र विस्थापन गर्ने योजना मन्त्रालयलाई बुझायो, तर ५ वर्षपछि ०७५ मा विस्थापनलाई पुनः ३ वर्षको समय माग्यो, त्यो समयसमेत सकिन लागेपछि ३० वर्ष पुराना जहाज सिम्रिक एयरलाई बिक्री गर्ने तयारी गरेको छ

यती एयरलाइन्सले पुरानो भएको भन्दै दुई–दुईपटक विस्थापन गर्न खोजेका ३० वर्ष पुराना जहाज सिम्रिक एयरलाइन्सलाई बिक्री गर्न लागेको छ । तिनै जहाज किनेर सिम्रिकले गुण एयरलाइन्सका नाममा उडान गर्ने भएको छ । यतीले ०७० मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ०७५ भित्र ३० वर्ष पुराना जेटस्ट्रिम जहाज विस्थापन गर्ने र एटिआर जहाजमार्फत उडान गर्ने प्रस्ताव गरेको थियो । त्यस अवधिमा जहाज विस्थापन गर्नुको साटो यतीले ०७५ मा पुनः ३ वर्ष समय नागेर जेठ ०७८ सम्म जहाज विस्थापनको अवधि थप गराएको थियो । तर, सो समयावधि सकिन केही महिना मात्रै बाँकी रहेका ती जहाज किनेर सिम्रिक एयरलाइन्सले उडान गर्न लागेको हो ।

यती एयरलाइन्सको उक्त जहाज दुर्घटना हुदाँ मानवीय क्षति नभए पनि जहाजमै गम्भीर सुरक्षामा समस्या देखिएको भन्दै छानबिन आयोगदेखि प्राधिकरणको हवाई सुरक्षा शाखाले गम्भीर चासो दिएको थियो । ‘जेटस्ट्रिम जहाजका स्पेयर्स पार्टस्देखि इन्जिनमा समेत प्राविधिक समस्या पर्न थालेको छ, सोही कारण यतीले विस्थापनको नीति लिएको हो, तर सिम्रिकले किन लिन खोजेको बुझ्न सकिएन,’ स्रोतले भन्यो ।

यतीसँग रहेका पाँचवटा जेटस्ट्रिममध्ये तीनवटा ग्राउन्डेड छन् । अधिकांशको फ्लाइङ आवर १ वर्ष मात्रै बाँकी छ । अहिले दुईवटा १८ सिट क्षमताका विचक्राफ्ट–१९०० मार्फत सिम्रिकले उडान गर्दै आएको छ । सिम्रिकले यसअघि एटिआर–७२ जहाज ल्याएर ट्रंक रुटमा उडान गर्ने योजना नै सार्वजनिक गरेको थियो । ‘तर, अहिले सस्तोकै लागि यतीका थोत्रा जहाज खरिद गर्न खोजेको देखियो,’ प्राधिकरण सम्बद्ध स्रोतले भन्यो ।

यतीका जहाज खरिदका लागि फाइनल चरणको डिल चलिरहेको सिम्रिक एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० बालकृष्ण श्रेष्ठले बताए । ‘यतीले विस्थापनका लागि मन्त्रालयमा निवेदन दिएको विषय जानकारी छैन,’ श्रेष्ठले भने । यसअघि एटिआर–७२ जहाज ल्याउने भने पनि अहिले यतीको जेटस्ट्रिम जहाज खरिदका लागि अन्तिम चरणको छलफल गरिरहेको उनले बताउनु भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE