कोरिया,कोरना भाइरस र नेपाली
कोरोनाको पिर त सबै सकेर कोठामा एक्लो हुदा मात्रै हो । सामाजिक संजाल हेरेर समाचार पढ्दा मात्रै हो
नियमित कामका लागी निस्किनै पर्छ । यहीँ एउटा मजदुरको बाध्यता र दैनिकी हो । फेरि कता के आएको भनेर के गर्ने ? अर्थनबर्थको गफ मात्रै हुन्छन् । चिन्तित् बिषयले मनमा शन्नाटा छाउछ । परदेशमा जो छुँ । झन विश्व नै त्रशित भएकोे बेला म किन नआत्तिनु ? हुर्किएको माटो, खेलेका साथीभाइ, रमाएका पाटिपौवा सम्झना बनेर बसे । अतीत, अतीतमा मात्रै गर्व गर्ने कुरा रैछ । बल्ल बुझेँ । मन आत्तिन्छ । आत्तिएर के गर्नु ? भाग्यमा जेछ त्यो भोग्नुको अर्को विकल्प पनि त छैन ।

विश्व कता गहिरहेको छ ? सरकारले कस्ता नीति ल्यायो ? समाजमा के के राम्रा काम भए ? यस्तो सोच्ने, बिचार गर्ने फुर्सद हुदैन परदेशमा । देशमा मजदूरी गर्नेले सोच्छन् कि खै ? सायद सोच्दैनन् होलान् । मसंगै कम्पनीमा सहकार्यगरी काम गर्ने कोरियनलाई उसैका देशका कतिपय घटना मैले सुनाएको छु । उसले सुन्दा, होर ? भन्दै मलाई तैले कसरी थाहा पाईस ? भन्ने प्रश्न गर्छ । अनि आफुले थाहा पाएको स्रोत सुनाएपछि यो आवश्यक छैन । न थाहापाए पनि हुन्छ । भनेर उसैको भाषामा भन्छ । यो महिना कम्पनीमा काम घट्दै छ । यो बरु जानिराख । काम कम भयो भने साहुको आम्दानी हुन्न । साहुको आम्दानी भएन भने हामीलाई त्यसले प्रत्यक्ष छुन्छ । मानौं कि यो उसले दिव्य ज्ञान दियो । आफ्नै मुलुकका मजदूरको मजबुरी त यस्तो हुन्छ भने अर्को मुलुकमा भोक आर्जनेका यस्ता बिषय प्राथमिक्तामा सायदै हुन्छन् । माक्र्सले “संसारका मजदुर एक हुन्“ भनेको भनाइमा सत्यता छ । सोचाइ, कमाइ, आम्दानी, वचत, जीवनस्थर, रहर, सपना इत्यादि सब समान । आफ्नो जनजीवनलाई नछोए सम्म ब्रह्माण्डनै किन नउल्टियोस्, उ बरु नियमित खानकै लागी सोच्छ । कामकै लागी चिन्ता गर्छ । परिवारकै खुसी खोज्छ । यो भन्दा पर उसको दुनियाँ हुदैन । हुन्छ होला तर उ जान्दैन ।

त्यसमाथि पनि हामी बिदेशी मजदुर हाम्रा अनेकौँ समस्या छन । भाषाका, परिवार बिछोड्का, काम गर्ने ज्ञानसिपका, आधुनिकता पहिचानका आदि । डर यहीँ भित्र छ । त्रास यिनै संग छ । चिन्ता यसैको लाग्छ । काम गर्ने तरिका कसरी सोध्ने भन्ने समस्यानै हाम्रो प्रमुख समस्या भएर आउँछ । आधुनिकता प्रयोग गर्न नजानी बिग्रीने हो कि भन्ने मुख्य डर यसैको हुन्छ । कोरोनाको पिर त सबै सकेर कोठामा एक्लो हुदा मात्रै हो । सामाजिक संजाल हेरेर समाचार पढ्दा मात्रै हो । साथीभाइ संग गफगरि सुचना आदानप्रदान गर्दा मात्रै हो । फुर्सद पाउँदा सोच्ने, चिन्ता गर्ने, बुझ्ने, जान्ने मन लाग्छ । बिशेष गरि आइतबार, हप्तामा एकदिन । अन्यथा त दश बाह्र घण्टा काममै सकि हाल्छ । त्यसपछि थकानले अरु सोच्नु भन्दा पनि निन्द्रा मात्रै सोच्छ, खोज्छ ।

चिनबाट विकासित भएको कोरोनाले कोरियामा आफ्नो साम्राज्य बनायो । अझ यसो भनौं अमेरिकी साम्राज्यवाद भन्दा माओवादको बिस्तार गर्यो । जो क्रान्तिकारी छ । भौतिकद्वन्दलाई प्राथमिकतामा राखेर अगाडि आइरहेको छ । यो संग लड्ने कुनै हतियार छैनन् । रोकथामका उपाय पनि कच्चा सबित गरिदियो । यसको असर कोरियामा रहेका नेपाली माझ प्रत्यक्ष पर्यो । जसका कारण कतिपय हामी कार्यरत कम्पनी बन्ध हुने अबस्थामा पुगेका छन् । कोरियाका लगभग सबै सहरमा नेपालीको प्रत्यक्ष उपस्थिति छ । कोरोनाको उपस्थिति पनि सबैतिर उत्तिकै बाक्लो बन्दैछ । संगैका सहकर्मी यसबाट संक्रमित भइसके । कोरिया सरकारले केही ठाउँमा स्वास्थ संकट कालको घोषण सम्म गरिसक्यो । यस्तो कठोर परिस्थिति हुदा पनि हामीलाई पशुपतिनाथ कृपाले छुन सकेको छैन । तर कैले सम्म? र बल्ल हामीले कोरोनालाई जान्नुपर्ने भयो । बुझ्नुपर्ने देखियो । अर्थात हाम्रो दैनिकी संग कोरोनाले आलिङ्गन गर्यो । र यसैको त्रास भयो । डर भयो । लगभग ४५ हजार नेपाली यसैको डरमा बाँच्न बिवश छन् । हे पशुपति हजुरको कृपा हाम्रो शिर बाट कहिल्यै नटाढिनुहोस् । धन्यवाद !!
भोजराज घोडासैनी, सुर्खेत, हाल दक्षिण कोरिया (छङ्जु शहर)
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE