Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

वैवाहिक जिवनको शुभकामना !

कविता

वैवाहिक जिवनको शुभकामना !

म निर्दोष थिएँ प्रिय !
तर दोषी तिमी पनि थिइनौ,
मसँगको जीवन यात्रा तिमीलाई कठिन लाग्यो
यसकारण तिमीले बाटो अन्तै मोड्या,
सम्भवतः तिमी सँग
नयाँ बाटोमा नयाँ सहयात्री भेट भयो
जसले तिमीलाई दुनियाँको सारा खुशी
केवल तिम्रो एक इशारामा दिन सक्दो हो ।
हुनसक्छ, त्यसैले तिमीले आफ्नो
बाँकी रहेको जीवन यात्रा
उसै सँग सफर गर्ने निर्णय लियौ ।

वर्षौं पश्चात् कसैले तिम्रो बारेमा केही सुनायो आज
खबर पनि यस्तो सुनायो कि
लाग्यो, बर्मा देशको माउन्ट पोपा
मेरो शिर माथि आएर बजारियो
एकछिन त आफ्नो होस घुमाएँ
अनि त्यसपछि होसले मलाई घुमायो
छुट्ने बेला तिमी र म बीच भएको संवाद सम्म पुग्दा
म टक्क रोकिएँ
मैले भनेको रहेछु
“खोजी हेर दुनियाँमा म जस्तो केटा पाउने छैनौ”।
तिमीले प्रतिउत्तरमा भनेकि रै’छौ
“तिमी भन्दा लायक खोजेर देखाउँछु”।
आखिर खोजेरै देखायौ हगि ?
लामो यात्रा, एक्लो जीवन
सफर गर्न कठिन नै पर्दोरहेछ
त्यसैले
नयाँ जीवन साथी खोजेको त मैले पनि थिएँ

विडम्बना !
तिमीले म भन्दा लायक पुरुष खोज्यौ
र, भेट्यौ पनि
मैले प्रत्येक स्त्री भित्र तिमीलाई खोजें
तर कतै भेट्न सकिनँ।।

खैर! छोडिदेउ यी सब कुरा
तिम्रो यादमा लेख्ने नै हो भने त
कविता हैन, एउटा राम्रो उपन्यास बन्छ
अफसोस!
अब त्यो हक ममा कहाँ छ र!
बाइ द वे “ह्याप्पी म्यारिड लाइफ”।।

जिवन आचार्य
म्यानमार

WRITE COMMENTS FOR THIS ARTICLE