Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नेपालमा भारतको उच्चस्तरीय भ्रमणको तयारी

स्रोत भन्छः सम्भवत राष्ट्रपतिस्तरकै भ्रमण

सवाल सम्वाददाता
काठमाडौं-भारतले नेपाल भ्रमणका लागि उच्चस्तरीय टोली पठाउने तयारी गरेको छ । सम्भवतः अर्को महिना अर्थात साउनको मध्यसम्ममा राष्ट्रपतिस्तरको भ्रमण गराउने तयारी भइरहेको ‘साउथ ब्लक’को तयारी रहेको स्रोतले बतायो । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति रामनाथ कोविन्द सहितको उच्चस्तरीय टोलीले नेपाल भ्रमण गर्ने बताइएको छ ।

परराष्ट्र मन्त्रालयले समेत उच्चस्तरीय भ्रमणको अनौपचारिक जानकारी आएको पुष्टि गरेको छ । तर, औपचारिक जानकारीको प्रतिक्षामा रहेको परराष्ट्र उच्च स्रोत बताउँछ । यसअघि २०७३  कात्तिकमा १८ वर्षपछि तत्कालिन भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणका लागि आएका थिए ।

दोस्रो कार्यकालका लागि भारी मतले सत्तासिन बनेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक पनि छिमेक नीतिलाई प्राथमिकतामा राखेका छन् । उनले आफ्नो दोस्रो कार्यकालको सपथमा पनि विमस्टेक राष्ट्रका प्रमुखहरुलाई बोलाएर यो नीतिलाई निरन्तरता दिने सन्देश दिएका थिए ।

मोदीले आफ्नो पहिलो भ्रमण नै माल्दिभ्सबाट गरे भने भुटानमा विदेशमन्त्री एस जयशंकरलाई पठाएर छिमेकमा पकड राख्ने सन्देश दिए । अब अर्को महत्वपूर्ण छिमेकी नेपालमा राष्ट्रपतिस्तरको भ्रमण गराउने तयारीमा मोदी सरकार रहेको स्रोतले बताएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE