विष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले फुटाइन् सरकारी गाडीको सिसा

ओम प्रकाश यादव
सिरहा, पुस २२ गते। सिरहा सिरहाको विष्णुपुर गाउँपालिकामा पदाधिकारीहरूबीचको तनाव चरम अवस्थामा पुगेको छ। गाउँपालिकाकी उपाध्यक्ष गीता कुमारी सिंहले आफ्नै पालिकाको सरकारी गाडीमा क्षति पुर्याउँदै गाडीको सिसा फुटाएकी छन्।
उक्त गाडी (स्कारपियो बा.२ झ ३६४३) गाउँपालिका अध्यक्ष सत्य नारायण यादवले प्रयोग गर्दै आएका थिए। यादवका अनुसार, उपाध्यक्ष सिंहले पार्टीको बैठकमा जान गाडी मागेकी थिइन्। तर, यादवले किसानका मलखाद समस्याबारे बुझ्न अर्को स्थानमा जानुपर्ने कारण देखाउँदै गाडी उपलब्ध गराउन नसकिने बताएपछि उपाध्यक्ष सिंहले रिसको झोंकमा पत्थर प्रहार गर्दै गाडीको सिसा तोडेकी हुन्।
“यो पहिलो पटक होइन,” अध्यक्ष यादवले भने, “यसअघि पनि उपाध्यक्षले विभिन्न विवादास्पद गतिविधि गर्दै आएकी छन्। केही महिना अगाडि गाउँपालिकाले दिएको चेकसमेत च्यातेकी थिइन्।”
उपाध्यक्ष सिंहले भने आफूलाई बैठकमा समयमै पुग्न गाडी आवश्यक रहेको र आफ्नो आग्रह बेवास्ता गर्दा गाडी तोडेको स्वीकारेकी छिन्। “मैले बिहान ठीक १० बजे गाडी पठाउन भनेको थिएँ। अध्यक्षले जानाजान गाडी उपलब्ध नगराउँदा मलाई रिस उठ्यो,” सिंहको भनाइ छ।
घटनापछि गाउँपालिकामा चर्को विवाद उत्पन्न भएको छ। स्थानीयले पदाधिकारीहरू बीचको यस प्रकारको व्यवहारले सरकारी सम्पत्तिको दुरुपयोग र जिम्मेवारीको अभाव देखाएको भन्दै आलोचना गरिरहेका छन्।
“सरकारी गाडी व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्नु नै गलत हो, त्यो पनि यसरी तोडफोड गर्नु थप आपत्तिजनक छ,” स्थानीय एक अगुवाले भने।
घटना सार्वजनिक भएपछि गाउँपालिकाको कार्यसम्पादन, अनुशासन र नेतृत्वको भूमिकाबारे व्यापक चर्चा र आलोचना भइरहेको छ। यस विषयमा स्थानीय प्रशासनले कुनै कारबाहीको प्रक्रिया अघि बढाउने हो या होइन, त्यो हेर्न बाँकी छ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE