Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

निर्माण कम्पनीलाई मल आयातको ठेक्का ! मालिक प्रचण्डका घरबेटी न परे….

अनुभवीलाई मात्र ठेक्का प्रक्रियामा संलग्न गराइन्छ : मन्त्रालय

काठमाडौं-भौतिक निर्माणको क्षेत्रमा दर्जनौं आयोजना अलपत्र पारेका कम्पनीले ३० हजार मेट्रिक टन मल आपूर्तिको अर्को ठेक्का कृषि सामग्री कम्पनीबाट पाएको छ । मल आयातको अनुभव समेत नभएको कम्पनीलाई मल आपूर्तिको ठेक्का दिइएको हो । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीले सञ्चालन गरेको शैलुङ इन्टरप्राइजेजले रासायनिक मल आयातको लागि ठेक्का पाएको छ । यसअघि पनि अनुदानको रासायनिक २५ हजार टन युरिया मल आपूर्तिका लागि दुई महिना पहिले शैलुङ इन्टरप्राइजेजलाई ठेक्का दिएको थियो, तर सो सम्झौताअनुसार शैलुङ इन्टरप्राइजेजले आपूर्ति नगर्दा किसानले सास्ती खेपीरहेका छन् । एकपछि अर्को ठेक्कामा ढिलासुस्ती गर्दै आएको कम्पनीलाई नै शुक्रबार थप ३० हजार मेट्रिक टन मल आपूर्तिको अर्को ठेक्का कृषि सामग्री कम्पनीबाट पाएको छ ।
को हुन् शैलुङ कन्स्ट्रक्सनका सञ्चालन
कम्पनीका सञ्चालक सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरधनी शारदाप्रसाद अधिकारी हुन् । राजनीतिक पहुँच र शक्तिकेन्द्रसँगको सम्बन्ध राम्रै साठगाँठ भएका अधिकारीका अधिकांश ठेक्का सम्झौताहरु अधुरो र विवादित छन् । भौतिक पूर्वाधार निर्माणमा पनि ठेक्काका लागि पहिलो प्राथमिकतामा पर्ने सो कन्स्ट्रक्सनलाई कामचोर कम्पनीको रुपमा समेत लिइन्छ । तर, पूर्वाधार आयोजना निर्माणमा कुख्यात कम्पनीलाई रासायनिक मल आपूर्तिको जिम्मा दिँदा आर्थिक चलखेल त छैन भन्ने शंका समेत उब्जाएको छ ।
अनुभव नै नभएको कम्पनीलाई ठेक्का
करिब ३ अर्ब रुपैयाँ बराबरको ठेक्का पाएको यस कम्पनीसँग रासायनिक मल आपूर्ति सम्बन्धि कुनै अनुभव नै छैन । यस अगाडिको रासायनिक मल ठेक्का समयमा पूरा गर्न नसकेको सो कम्पनीलाई के आधारमा ठेक्का दिइयो भन्ने प्रश्नममा कृषि सामग्री कम्पनी लिमिटेडले खरिद ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार टेन्डर आह्वान गरिएको र सबैभन्दा कम बोलकबोल गर्ने कम्पनीसँग आयातका लागि ठेक्का सम्झौता गरिएको बताएको छ । तर, आश्चर्यलाग्दो कुरा के भने अनुभव र कुशल कार्यशैली नभएको शैलुङ इन्टरप्राइजेजलाई थप २५ हजार मेट्रिक टन मल आपूर्तिको जिम्मा दिने तयारी छ । यो सबै जोड्दा ८० हजार टन हुन्छ । र, करिब ३ अर्ब रुपैयाँ बराबरको ठेक्का पाएको छ ।
सम्बन्धित क्षेत्रको अनुभव नै नभएका कम्पनीलाई एकपछि अर्को गरी ठेक्का दिइनुलाई सुशासन मामिलाका जानकार शक्ति र पहुँचको दुरुपयोग गरेको आरोप समेत रहेको छ । विकास निर्माणका ठूला ठेक्का ओगट्ने, पेस्की रकम दुरुपयोग गर्ने र समयमा काम नगर्ने कारण अधिकारीको शैलुङ कन्स्ट्रक्सन बदनाम कम्पनीलाई कृषि सामग्री आयातको जिम्मा दिँदा कृषक मारमा पर्ने निधो जस्तै छ । भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको १६ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का ५ पटक म्याद थप्दा पनि उसले सम्पन्न गरेको छैन । २८ करोडमा सम्झौता गरिएको आयोजनाको लागत बढाएर ३४ करोड पु¥याइएको छ । उनै ठेकेदारलाई सरकारी कम्पनीबाट अरु ठूलाठूला ठेक्का किन दिइँदै छ ? गम्भीर प्रश्न उठेको छ ।
अनुभवीलाई मात्र ठेक्का प्रक्रियामा संलग्न गराइन्छ : मन्त्रालय
सम्बन्धित क्षेत्रको अनुभव नभएको कम्पनीलाई ठेक्का दिइएको भन्दै यसअघि चौतर्फी रुपमा आलोचना भएको भन्दै कृषि कम्पनीले अनुभवीलाई मात्र ठेक्का प्रक्रियामा संलग्न गराउने तयारी रहेको बताएको छ । मल आपूर्तिका लागि तोकिएको मापदण्ड शैलुङ इन्टरप्राइजेजले पूरा गरेर नगरेको बारे अबदेखि यो विषयमा विस्तृत बुझेर मात्रै ठेक्का प्रक्रिया पूरा गर्छ, कृषि सामग्री कम्पनी स्रोतले भन्यो । कम्पनीले मापदण्ड पूरा गरेरनगरेको वा काम गर्नका लागि सक्षम रहे–नरहेको विस्तृत जानकारी नै नलिई यी ३ ओटा ठेक्का दिएको कृषि कम्पनीले यसपछिका टेन्डरहरुमा सबै विषयलाई गम्भीरताका साथ हेर्छु भन्नुले अरु ठेक्काको समेत डिजाइन भइसकेको त होइन भन्ने प्रश्न उब्जाएको छ । विकास निर्माणका ठूला ठेक्का ओगट्ने, पेस्की रकम दुरुपयोग गर्ने र समयमा काम नगर्ने कारण अधिकारीको शैलुङ कन्स्ट्रक्सन बदनाम रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE