Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने ४१ देखि ६० वर्ष उमेर समूह, कहाँ कतिको मृत्यु ?

श्रावण १०, काठमाडौँ
देशभर हालसम्म २६ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु देखीएको छ । सबैभन्दा बढी काठमाडौं र कैलालीमा ४/४ जनाको मृत्यु भएको छ । शुक्रबारसम्म भएका कुल ४५ मृत्युका घटनामा ३६ पुरुष जस्मा ३४ वयस्क र २ बालक छन् भने ९ महिला जस्मा ८ वयस्क र १ बालिका छन् । एक जना चिनियाँ महिलाको समेत मृत्यु भएको छ । प्रदेशगत हिसाबले वाग्मती र प्रदेश ५ मा सबैभन्दा बढी १०/१० जनाले ज्यान गुमाएका छन् । हालसम्म प्रदेश १ मा संक्रमणबाट कसैको मृत्यु भएको छैन ।
कोरोना माहामारीसम्बन्धी अनुसन्धान गरिरहेका जनस्वाथ्यविद् डा. राजेन्द्र बीसीका अनुसार लकडाउनपछि मृत्युको संख्या बढ्दो देखिएको छ, उहाँले भन्नुभयो, ‘आईसीयूमा गएका अधिकांशको मृत्यु भएको छ ।’ हाल ७ जना बिरामी आईसीयू र भेन्टिलेटरमा छन् । ‘हाम्रो जस्तो मुलुकले कोरोनाको उपचारलाई धान्न सक्दैन,’ डा. बीसीले भन्नुभयो, ‘त्यसैले बचाउमै जोड दिनुपर्छ ।’
वाग्मती प्रदेशमा ९ सय ७ संक्रमितमध्ये १० जनाको मृत्यु हुँदा मृत्युदर १ दशमलब १० प्रतिशत देखिएको छ । मुलुकभरकै मृत्युदर भने ० दशमलब २४ प्रतिशत छ । वाग्मतीमा जति नै मृत्यु भएको प्रदेश ५ मा मृत्युदर ० दशमलब २४ प्रतिशत छ, त्यहाँ ४ हजार २ सय ३४ संक्रमित छन् । सबैभन्दा कम मृत्युदर सुदूरपश्चिम प्रदेशमा छ । ४ हजार १ सय ८५ संक्रमितमध्ये ६ जनाको मृत्यु हुँदा मृत्युदर ० दशमलब १४ प्रतिशत रहेको छ ।
कोरोनाबाट ५० वर्षमुनिका कुल संक्रमित १७ हजार ३ सय ८८ मध्ये २६ जनाले ज्यान गुमाएका छन् । ५० वर्षमाथिका ९ सय ८६ संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी मृत्यु ४१ देखि ६० वर्ष उमेर समूहमा देखिएको छ । ४१ देखि ५० वर्ष उमेर समूहका ११ जना र ५१ देखि ६० वर्ष उमेर समूहका १० गरी २१ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमध्ये २५ प्रतिशत व्यक्ति विदेशबाट आएका हुन् । भारतबाट आएका ९, कतारबाट १ र चीनका १ गरी ११ जना विदेशबाट फर्किएकाको मृत्यु भएको हो । २ जनाको मृत्यु होम क्वारेन्टाइनमा भएको छ । २७ जनाको मृत्युपछि मात्रै कोरोना पोजिटिभ पुष्टि भएको छ, आधा अर्थात २२ जना को त सरकारले सञ्चालन गरेको क्वारेन्टाइन, आइसोलेसन सेन्टर र अस्पतालमा नै मृत्यु भएको देखिन्छ ।
यी २२ मध्ये १६ जनाको उपचारका क्रममा र ६ जनाको उपचार नै नपाएर मृत्यु भएको हो । कुल मृत्युमध्ये २६ जना अर्थात ५९ दशमलब १ प्रतिशतमा कोरोना संक्रमणबाहेक दीर्घ वा अन्य रोगसमेत देखिएको थियो । संक्रमण समुदायमा फैलिएपछि कोरोनाको ट्रेन्ड बदलिने स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । आगामी दिनमा मृत्युदर बढ्न सक्ने र सरकारले प्रति १० लाख कोरोना पोजिटिभमा १ दशमलब ४ को दरमा मृत्युको आकलन गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE