Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

“सशस्त्रकै मिलोमतोमा तस्करी! भन्सारको गस्ती टोलीले बरियारपट्टीबाट झण्डै १ लाखको मालसमान जफत”

✍️ दिनेश सहनी,जनकपुरधाम
२६ असार – सिरहा जिल्लाको सीमावर्ती क्षेत्र बरियारपट्टी नाकाबाट सशस्त्र प्रहरीकै मिलोमतोमा भइरहेको तस्करीलाई भन्सार कार्यालय माडरले ठूलो सफलता हात पार्दै पर्दाफास गरेको छ। बिहीबार विहान करिब ८ बजेको समयमा भन्सार अधिकृत विमल कुमार श्रेष्ठको नेतृत्वमा खटिएको गस्ती टोलीले झण्डै ९१ हजार रुपैयाँ बराबरको अवैध सामग्री जफत गरेको हो।
भन्सार कार्यालय माडरका अनुसार, गुप्त सूचनाका आधारमा खटिएको टोलीले बरियारपट्टी नाकाबाट १५ बोरा सुख्खा खुर्सानी, राग तेललगायतका सामग्री जफत गरेको जनाएको छ। बरियारपट्टी नाका भन्सार कार्यालयदेखि झण्डै १५ किलोमिटर पूर्व पर्छ। सोही स्थानमा तैनाथ सशस्त्र प्रहरीको आँखा छल्दै सामग्री तस्करी भइरहेको देखिनु र नियन्त्रण नगर्नु स्वयंमा गम्भीर प्रश्न खडा भएको छ।
सूत्रका अनुसार, सीमा सुरक्षा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (BOP) बरियारपट्टी नाकामा तैनाथ सशस्त्र टोलीले तस्करहरूसँग मिलेर अवैध तस्करीलाई संरक्षण दिने गरेको आशंका पुष्टि हुने आधारहरू भेटिएका छन्। विशेषगरी सशस्त्र प्रहरी सई विष्णु प्रसाद गौतम र उनका नजिकका सहयोगीहरू कमल दहाल र गणेश कार्की प्रायः सो क्षेत्रमा सक्रिय देखिन्छन्। उनीहरूलाई सशस्त्र प्रहरी बल नं. ७ गणका गणपति एसपी नरेश भण्डारीका “प्रिय पात्र” का रूपमा चिनिन्छ।

‘लाईन’ लिएर तस्करी खुलाउने सशस्त्र घुमुवाहरू?
स्रोतका अनुसार, सशस्त्र प्रहरीको केही घुमुवा टोली तस्करहरूसँग रकमको लेनदेन गर्दै तस्करीका मालसमान सीमा पार गराउने ‘लाईन’ दिने कार्यमा संलग्न छन्। भनिन्छ—यी घुमुवाहरू एसपी भण्डारीको अनुमतिमा नाकाबाट तस्करी गराउन “लाईन चार्ज” लिने गर्छन्।
तिनै नाकामा सक्रिय तस्करहरूको नामसमेत खुलासा भएको छ।
सामान ओसार्ने बेलामा उनीहरू सीमामा उपस्थिति जनाउँछन्, अवरोध गर्न होइन, लाईन सुरक्षित गराउन,” भन्सार स्रोतको भनाइ छ।
तस्करीको संरचनागत जालो:
सिरहाका चार मुख्य नाकाहरूमा चल्ने तस्करी केवल सामान्य ओसारपसार होइन। यसमा संगठित गिरोहको संलग्नता छ, जसमा तस्कर, सुरक्षा निकायका कर्मचारी, राजनीतिक पहुँच राख्ने व्यक्ति, र स्थानीय एजेन्ट संलग्न छन्।

तस्करीका स्रोत र गन्तव्य:
• सामग्री: मसला, तेल, लत्ता–कपडा, मोबाइल सेट, औषधि, सिगरेट, मोटर पार्टपुर्जा आदि
• मार्ग: बरियारपट्टी, तरही, नवराजपुर, बढरी, इटाटार, लगड़ी, झाझपट्टी, ठाढी, कुसण्डी नाकाहरू
• गन्तव्य: लहान, गोलबजार,मिर्चैया, सिरहा बजार सम्म तस्करीको समान निर्वाध पुग्ने गरेको छ।
जवाफदेहीको माग, भन्सारको बहादुरी
तस्करी नियन्त्रण गर्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीको स्थानमा अहिले भन्सार कार्यालय आफैँ अग्रसर भएर काम गरिरहेको छ। गस्ती टोलीको यो सफलताले तस्करीमा संलग्न प्रहरीको भूमिकालाई थप गम्भीर रूपमा लिएको देखिन्छ। गएको असार १७ गते मंगलबार राति करीब १२ बजेको समयमा झण्डै १६ लाख बढ़ीको भन्सार छलीका अवैध कपड़ाहरु भन्सार कार्यालय माड़रले नियन्त्रणमा लिएको थियो। स्थानिय नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवालाहरूले अब तत्काल सशस्त्र प्रहरीहरूको भूमिकामाथि छानबिन गर्न, जिम्मेवारलाई कारबाही गर्न र सीमा सुरक्षामा विश्वास पुनर्स्थापना गर्न सरकार समक्ष माग गरेका छन्।

सिरहामा भन्सार कार्यालयको साहसी कदमले एकपटक फेरि देखाएको छ—यदि इच्छाशक्ति भए, तस्करीजस्तो संगठित अपराधविरुद्ध पनि कारवाही सम्भव छ। तर, सशस्त्र प्रहरीकै संलग्नता प्रमाणित हुँदै गएमा, यो केवल सुरुआत हुन सक्छ, थप गहिरो छानबिन अब अनिवार्य देखिन्छ।

WRITE COMMENTS FOR THIS ARTICLE