Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

पुनः लकडाउन गर्न सरकारलाई बाध्य पारिदै छ : मन्त्री ज्ञवाली

२५ असोज 
काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं कोरोना भाइरस महामारीविरुद्धको लडाईमा पछि परेको बताउनुभएको छ ।

आइतबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले काठमाडौं देशलाई नै नमुना दिने, दृष्टान्त प्रस्तुत गर्ने शहर भएपनि कोरोना महामारीविरुद्धको लडाईंमा भने पछि परेको बताउनुभयो ।

उहाँले कोरोना महामारी नियन्त्रणका लागि कतिपय जिल्लाको प्रयास उदाहरणीय भएको तर, काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको बताउनुभयो ।

यसैबीच उहाँले काठमाडौंका जनप्रतिनिधि, संघ संस्था तथा आम नागरिकलाई कोरोना नियन्त्रणका लागि बाँके, कपिलवस्तु, वीरगञ्जजस्ता ठाउँमा अपनाइएको राम्रो अभ्यासबाट सिक्नुपर्ने बताउनुभयो ।

त्यस्तै, उहाँले ४० लाख जनसंख्या भएको काठमाडौंमा संक्रमण अनियन्त्रित बनेमा अवस्था भयावह हुने र स्वास्थ्य संरचनाले धान्न नसक्ने पनि बताउनुभयो । उहाँले कोरोना संक्रमणलाई हल्का ढंगले लिन नहुने पनि आग्रह गर्नुभयो ।

नेपालमा कोरोना संक्रमणको श्रृङ्खला रोक्न नागरिकको सचेतता आवश्यक रहेको बताउँदै मन्त्री पोखरेलले यो वर्षको दशैंलगायतका चाडपर्व उल्लासका साथ मनाउने अवस्था नरहेको पनि प्रष्ट पार्नुभयो ।

साथमा आफ्ना अभिभावक तथा मान्यजनलाई कोरोना संक्रमणबाट बचाउन सबै सचेत रहन पनि उहाँको आग्रह छ । यसैबीच उहाँले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ पनि सबैलाई सचेत गराउनु भएको छ ।

हालको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको तर, नागरिक संवेदनशील नभएमा पुनः लकडाउन गर्न सरकार बाध्य हुने बताउनुभयो ।

नागरिकको जीवन रक्षा सरकारको मुख्य प्राथमिकता भएको बताउँदै उहाँले बारम्बारको अपीलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सुझाउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE