सगरमाथाको नयाँ उचाइ सार्वजनिक, ८६ सेन्टिमिटर बढ्यो
-सिंहराज योञ्जन
२३ मंसिर,काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ । मंगलबार नेपाल र चीन दुबै देशले एकै पटक सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन् ।
सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । दुवै देशका परराष्ट्रमन्त्री सम्मिलित संयुक्त भर्चुअल बैठकबाट सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको हो ।
नेपाल सरकारको साधन–स्रोतमा पहिलो पटक सगरमाथाको उचाइ मापन गरिएको हो । केही समयअघि मात्रै नेपाल र चीन दुबै देशले सगरमाथाको उचाइ मापन गरेका थिए । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो ।
नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको थियो । यही उचाइलाई अन्तर्राष्ट्रिय जगतले पनि मान्यता दिँदै आएको थियो ।
सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । सबैको मापन फरक फरक निस्किएको थियो । अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो । यसपटक हिउँ सतहसहित सगरमाथाको मापन गरिएको हो ।
गत वर्ष डिसेम्बरमा नै उचाइ सार्वजनिक गर्ने गरी समय तोकिएको थियो । तोकिएको समयमा काम हुन नसक्दा करिब एक वर्ष ढिलो सगरमाथाको उचाई सार्वजनिक गरिएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE