ओलीले नेताहरुको फोन ट्यापिङ गरिरहेको नेकपा नेता पुनको आरोप
१४ पुष
काठमाडौँ – नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले गैरकानूनी रुपमा राजनीतिक दलका नेताहरुको टेलिफोन ट्यापिङ गरिरहेको दावी गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधवकुमार नेपाल पक्षद्वारा मंगलबार रोल्पाको लिवाङमा आयोजित सभामा निवर्तमान ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीसमेत रहेका पुनले नेताहरुलाई तर्साउन त्यस्तो गरिएको बताए ।
‘सबै नेताहरुका टेलिफोन ट्यापिड भइरहेको छ ।
नेताहरुले फोनमा गोप्य कुरा गर्न मिल्दैन’, पुनले भने, ‘सञ्चारका साधनहरुमा कुरा गर्न नमिल्ने गरी नेताहरुलाई आतंकित गरिएको छ, हाम्रोजस्तो लोकतान्त्रिक संविधान भएको मुलुकमा यो स्वीकार्य हुन सक्दैन ।’
यस्तै प्रधानमन्त्रीका कारण राष्ट्रिय व्यवसायी आतंकित बनेको उनले उल्लेख गरे ।सरकार बन्दै गर्दा सहयात्री दलको जिम्मामा परेको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागलाई नियतबस आफू मातहत राखेर प्रधानमन्त्रीले सुरुमै सबै चिज आफूमा केन्द्रित गर्ने संकेत देखाएको स्मरण उनले गरे ।
‘सम्पत्ति शुद्धीकरण र राजश्व अनुसनधान विभाग आफू मातहत राखेर उद्योगी व्यवसायीलाई तर्साएर आत्मसर्पण गर्नलाई आत्मसमर्पण गराउने र नगर्नेलाई कारबाही गर्ने काम भयो ।
हामीले सबै अधिकार एउटै व्यक्तिका अधिनमा राखेर मानिसहरुलाई आतंकति पार्ने खालको लोकतन्त्र ल्याएका होइनौं ।’ शक्ति र सत्ताको दुरुपयोग दुई दिनको कुरा भएको भन्दै उनले सत्ता र शक्तिको धम्कीबाट आफूहरु नडराउने स्पष्ट गरे ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE