Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

म आजसम्म मुस्कुराउन सकेको छैन !

म आशुको तलाउमा खेल्दै
जिबनको यात्राहरु अगाडि
बढाई रहेको मान्छे !
हो आजसम्म म एकचोटि पनि
मुस्कुराउनु सकेको छैन,
तैपनि मलाई हारेको महसुस भएको छैन !

दुख र पीडाले दारेको महसुस भएको छैन !
किन कि म जन्मिदानै
ऋणको भारी बोकेर जन्मिएको मान्छे,
आँसु र पसिनाको सुगन्ध टालो भित्र
रुदा(रुदै हुर्किएको मान्छे !!

म त्यो बेला पनि एकचोटि हास्न सकिन
मेरि आमाले मलाई गर्भमा राखेर,
पिठ्युँमा घाँस,दाउराको भारी बोक्दै
नौ महिनासम्म बनिबुतो गर्दै
आँसु र पसिनाको सिंचाइले
मलाई हुर्काउदै थिइन् ।।

मेरि आमाको त्यो पीडा र दुख हेरेर
म कसरी खुसी हुन सक्छु,
त्यसैले म मेरि आमाको कोखमा पनि
अह एकचोटि पनि खुसी हुन सकेन !

जन्मिदा नै दुखको अनुभव संगालेर
आमाको कोखबाट जन्मिएको मान्छे,
यो धर्तिमा पाईला टेक्ने बित्तिकै
परालको कुन्युमा डाको छाडेर रोए देखि
आजसम्म आसुले साथ छोडेको छैन !

अह आजसम्म एकचोटि पनि म
दिल खोलेर मुस्कुराउन सकेको छैन !!
मेरो यो दुखमा मेरि आमा पनि दोषी छैन !
कर्म दिने मेरो बुबा पनि दोषी हैन !

म भन्दिन मेरो भाग्य वा तकदिर
आफैमा खोट छ,
गरिबको कोखमा जन्म दियो,
दुखको जन्जिरभित्र कैद बनायो,
आसुको ढलभित्र डुबायो !
त्यसैले मेरो यो दुख र पिडामा
न मेरि आमा दोषी छिन न बाबा
न त मेरो भाग्य!

दोषी त त्यो हो
गरिबको पसिना चुसेर,
महलमा घुरेर सुत्छन !
गरिबलाई सपना देखाएर
दिउसै पैसाको कोठीमा निदाउछन !

गरिबको हातमा फुटेको ठेला,
नाम्लो बोकेर खुइलिएको तालु,
डाडा(काडा गरेर फुटेको पैताला,
सन्तान र सन्ततिको लागि बगाएको पसिना
कहिले नदेखिने ठुला बडा भनौदाहरु !!

हो, दोषी त त्यो हो
गरिबको खुन र पसिना चुसेर
महलमा सुनको थाली चाट्नेहरु !
म जस्तै परदेशमा दुख गर्नेहरुको
करले सदनमा भत्ता बाड्नेहरु !

लाखौँ गरिबको छोराछोरीहरु परदेशमा बेचेर
आफ्नो सन्तानहरु युनिभर्सिटीमा पढाउनेहरु !
बिकासको कालो नक्सा कोरेर
भ्रस्टाचारको चिल्लो कार चड्नेहरु !
नेपाल आमाको छातिमा टेकेर
देशको स्वाभिमान बेच्नेहरु !

त्यसैले यी गद्दार देश लुछ्ने गिद्दहरुले गर्दा
अह आजसम्म एकचोटि पनि म
दिल खोलेर मुस्कुराउन सकेको छैन !
हो साच्चै हो मुस्कुराउनु पनि कसरी सक्छु रु
लाखौ चेलिहरुको सिउदो रोइरहेकि छिन,
लाखौं बालबालिकाहरु सडकमा अलपत्र छन,
लाखौं परदेशिहरु पराई देशको जेलभित्र
भोकै रोइरहेका छन !!

नेपाल आमाको कोखमा लाखौ बज्रहरु
दिनप्रतिदिन प्रहार भैरहेको छ,
तस्करहरुको प्रहारले लाखौ रुखको
बुट्यानहरु रोइरहेका छन,

परदेशको हेपाई र सिमाना मिचाईले
कालापानी जस्ता थुप्रै भुभागहरु रोइरहेका छन,
देख्दा हासेको जस्तो देखिने सयौ हिमालहरु
नेपाल आमाको दुख देखेर रोइरहेका छन!

हो यस्तो दुख र पिडाको मरुभूमिमा बसेर
म कसरी मुस्कुराउन सक्छु रु
हरेक नयाँ बर्षको आगमन सङ्गै
बिस्केटका रथहरु रोइरहेका छ्न,
बुद्ध जन्मेको देश हाम्रो बुद्ध पुर्णिमामा
हरेक बुद्धको मुर्तिहरु रोइरहेका छन,

बिश्व बाताबरण दिवसका दिन
दुर्गन्धित शहरहरु रोइरहेका छन,
राष्ट्रिय धान दिबसको दिन महलमा बसेर
देश लुटुवाहरु दहि,चिउरा खाइरहदा
मलजल नपुगेका गरिबको खेतहरु रोइरहेका छन,
अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिबसको दिन
लाखौ दुखी,गरिबहरुको छोराछोरी बिदेशमा बेचेर
काठमान्डौको महलमा बसि खिर खाइरहदा
हजारौ नेपाली आमाहरु रुइरहेकि हुन्छिन,
हरितालिका तिजमा देश लुटुवाहरुको श्रीमतीहरु
हिरामोती,सुनचाँदीले सजेर छमछम नाच्दा
लाखौ दुखी गरिब चेलिहरु !!

परदेशमा पसिनाको दाना चुहाई रहेकी हुन्छन्
म जस्तै लाखौ नेपालीहरु
परदेशमा पसिना बेचिरहदा
दशैमा जमरा,टीका रोइरहेका हुन्छन !!

तिहारमा दाजुभाइको आगन अनि
चेलिबेटीले उनेको मखमली माला रोइरहेका हुन्छन,
तमु ल्होछार,सोनाम ल्होछार,घ्याल्बो ल्होछार
हरेक ल्होछारहरुमा परदेशि नेपालीहरु
आफ्नो आफन्त र आफ्नो देश सम्झेर रोइरहेका हुन्छन,
हो मपनि यहि रुहाईहरुको बिचमा रोइरहेका
एक पात्र कसरी मुस्कुराउन सक्छु !

केयोन तामाङ (कपिल)

WRITE COMMENTS FOR THIS ARTICLE