कविता : सूर्यको शुभकामना
चुँडिनु छ फूलले
झर्नु र ओइलिनु पनि छ,
तापनि निष्फिक्री फुलिरहेछ
सुन्दरताको सुवास छरिरहेछ ।
त्यस्तै,
झर्नु छ बादलका टुक्राले
तप्किनु र उछिट्टिनु पनि छ,
तापनि सगरमा निष्फिक्री घुमिरहेको छ
स्वतन्त्रताको आवाज बाँडिरहेको छ ।
अझ,
ठोक्किनु छ नदीका छालले
पोखिनु र जमिनु पनि छ,
तापनि निष्फिक्री दौडिरहेको छ
गन्तव्यको पाइला पछ्याइरहेको छ ।
र, साँच्चै
अस्ताउनु छ घामले
छेकिनु र देखिनुमा आक्रोशको पीडाले
पिल्सिनु पनि छ उसले
तापनि हरेक बिहानीमा उषाकिरण फालिरहेछ
शुभदिनको शुभकामना दिइरहेछ ।
नवीनताको नमन गरिरहेछ ।
– ओमकुमार श्रेष्ठ
(मावि तृतीय शिक्षक, झापा)
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE