Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

मोरङको उर्लाबारीको प्रवीण हत्या प्रकरण : छानबिन प्रतिवेदन सार्वजनिक

२४ फागुन
काठमाडौं – मोरङको उर्लाबारी नगरपालिका-५ का प्रवीण बास्तोलाको हत्या प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको नेतृत्वमा फागुन ९ गते तीन सदस्यीय समिति बनाएर घटनाको छानबिन थालिएको थियो ।

समितिले अन्तिम प्रतिवेदन बुझाएपछि मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले आइतवार पत्रकार सम्मेलन गर्दै प्रतिवेदन सार्वजनिक गर्नु भएको हो।

प्रवीणको परिवारले प्रहरीले घटनालाई कमजोर बनाउन भूमिका खेलेको तथा दोषीलाई उन्मुक्ति दिने गरी मिसिलमा असम्बन्धित व्यक्तिको फोटो राखेर अनुसन्धान गरेको आरोप लगाएका थियो । छानबिन समितिले मृतकलाई उपचारका लागि भनेर पुर्‍याइएको उर्लाबारीस्थित गोदावरी अस्पतालका कर्मचारी, घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी लगायतसँग कुरा बुझेर प्रतिवेदन तयार पारेको मोरङ प्रहरीले जनाएको छ ।

प्रवीणको हत्या भएको रात : प्रवीणको हत्यामा संलग्न रहेका रमेश गिरी (घरधनी) को घरमा घटना भएको थियो । गत पुस ५ गते गिरीको घरमा सुत्न गएका प्रवीणको शंकास्पद मृत्यु भएको थियो । सुतेकै ठाउँमा बेहोस अवस्थामा भेटिएको प्रवीणको उपचारका लागि अस्पताल पुर्‍याएपछि मृत्यु भएको आरोपीहरुले गर्दै आएका थिए ।

तर प्रवीणको हत्या भएको भन्दै ६ जनाविरुद्ध प्रवीणका बुवा प्रेमप्रसाद बास्तोलाले किटानी जाहेरी दिएपछि प्रहरीले घटनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेको थियो । कोठामा पुग्नुअघि शौरभ होटलमा खानपिन गरेको र त्यस क्रममा होटल सञ्चालक कुमार राईसँग विवाद भएको प्रहरीको भनाइ छ ।

प्रवीणको हत्यामा संलग्न ६ जना :

झापाको दमक घर भई उर्लाबारी–६ बस्ने ३२ वर्षीय राजेश रणपहेंली

झापाको गौरादह नगरपालिका–९ का ३१ वर्षीय दिपेश पौडेल

मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने ‘मेहरमान दर्जी’

कानेपोखरी गाउँपालिका घर भई उर्लाबारी– ६ मा बस्दै आएका १९ वर्षीय सुदीप परियार

उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई

उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरी

प्रवीणको शवको पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण खुल्न सकेन । त्यसपछि उर्लाबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) उद्धव पोखरेल नेतृत्वको टोलीले ६ जनालाई प्रतिवादी बनाएर मिसिल तयार गर्दै मुद्दा दर्ताका लागि सरकारी वकिल कार्यालयमा प्रहरीले बुझायो । तर वकिल कार्यालयले आवश्यक प्रमाण नपुगेको भन्दै गत माघ २ गते सबैलाई हाजिर जमानीमा छाडेर घटनाको थप अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो । भिसेरा रिपोर्ट आएपछि फागुन २ गते प्रहरीले बुझाए पनि वकिल कार्यालयले प्रमाणको भार पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिँदै दोस्रो पटकसमेत अदालतमा मुद्दा दर्ता गरेन ।

मुद्दा दर्ता नहुनुको कारण खोजी गर्ने क्रममा प्रहरीमा रहेको कपी मिसिलमा तीनवटामध्ये एउटा फोटो अर्कै व्यक्तिको परेको भन्दै मृतकका आफन्त र परिवारका सदस्य आन्दोलित बनेका थिए । वकिल कार्यालय र अदालतमा रहेको सक्कली मिसिलमा भने मृतककै फोटो थियो। मुद्दामा आवश्यक पर्ने सबै प्रमाण संकलन गरेर अनुसन्धान गरिएका अनुसन्धानमा प्रहरीको कुनै कमजोरी र लापरवाही नरहेको प्रहरीले बताउनु भयो ।

प्रवीणको ठाँउमा करेन्ट लागेका मृत्यु भएका व्यक्तिको फोटो : प्रवीणका परिवारले मिसिलमा भएको फोटो प्रवीणको नभएको र घटना लुकाउन यस्तो गरेको आरोप लगाएका थिए । साथै प्रवीणले लगाएको कपडा च्यातिएको कुरा मुचुल्कामा उल्लेख नगरेको भन्दै परिवारले प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न दबाव दिएका थिए ।

कपी गरिएको मिसिलमा गत भदौ ३ गते करेन्ट लागेर घाइते भइ गोदावरी अस्पतालमै उपचारका क्रममा मृत्यु भएका मोरङको लेटाङ नगरपालिका–८ घर भइ उर्लाबारी–७ मा बस्दै आएका २६ वर्षीय नवीनराज घिमिरेको फोटो परेको छानबिन समितिले पत्ता लगाएको छ । घटना अनुसन्धानका क्रममा राखिएको उनको फोटो नचिनेका कारण प्रहरी जवान योगिन सार्कीले कम्प्युटरबाट प्रिन्ट गरेर निकाल्दै प्रवीणको भनेर भुलवश राखेको छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE