Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

भारत सरकारद्वारा धनुषामा श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालय स्थापना


२४ कात्तिक
काठमाडौँ-
भारत सरकारको सहयोगमा धनुषामा श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालय स्थापना भएको छ । भारतको २ करोड ६२४ रुपैँया आर्थिक सहयोगमा धनुषा जिल्लाको कुम्हरौडास्थित श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयको नव निर्मित विद्यालय भवनको काठमाडौंस्थित भारतीय राजदूतावास, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय परियोजना कार्यान्वयन इकाई, धनुषा जनकपुरधाम तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु र स्थानीय प्रतिनिधिहरु द्वारा आज संयुक्त रुपमा उद्घाटन गरियो ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा १५ वटा कक्षा कोठा र सरसफाई सुविधा सहितको उक्त तीन तल्ले विद्यालय भवनको निर्माण भएको हो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा विकास गरिएको हो ।

भारतले हालसम्म नेपालमा ४२४ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये धनुषामा १० वटा गरी प्रदेश नं २ मा ४५ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् । धनुषा जिल्लामा ९ वटा समेत गरी प्रदेश नं २ मा भारत सरकारको अनुदानमा सञ्चालित २१ परियोजनाहरु सम्पन्न तथा कार्यान्वयनका विभिन्न चरणहरुमा रहेका छन् ।

धनुषाको तुलसियाहीमा वैद्यनाथ देवनारायण जनता उच्च माध्यमिक विद्यालयको निर्माणार्थ मिति २०७६ चैत्र ३ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकारले मुखियापट्टी मुसरनिया गाउँपालिकालाई कार्यान्वयन निकायको रुपमा नियुक्त गरेको छ भने टेन्डर प्रक्रिया पुरा गर्न बाँकी रहेको छ ।

धनुषा जिल्लाको कुम्हरौडास्थित श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालय सन् १९५६ मा स्थापना भएको हो । विद्यालयमा करिब ११०७ जना विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ५० प्रतिशत भन्दा बढी छात्रा रहेका छन् ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ । यस परियोजनाले नेपाल र भारतबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पु¥याएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE