Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026

ज्यान मार्ने धम्कि दिने उपाध्यक्ष र वडा अध्यक्षलाई एक वर्ष कैद

१२ बैशाख काठमाडौँ- रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र सोही पालिकाको वडा नम्बर–७ तिल्पुङका वडा अध्यक्ष सुवास बोहोरा जेल चलान हुने भएका छन् ।

उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोरालाई काठमाडौं जिल्ला अदालतले कैद फैसला सुनाएको हो । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले गाउँपालिकाकी उपाध्यक्ष दाहाललाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिमाना तोकेको छ । त्यसैगरी वडा अध्यक्ष बोहोरालाई पनि १ वर्ष कैद र १० हजार रुपैयाँ जरिमाना तोकेको छ । अदालतले दोषी ठहर गरी जेल सजाय र जरिमाना समेत तोकेपछि दुवै जना जेल जाने भएका हुन् ।

केही वर्ष पहिले लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्कासँग सोही गाउँपालिका–७ तिल्पुङका ९मिलन० भनिने लोप्साङ लामा र अमृत तामाङले २ करोड रुपैयाँ चन्दा मागेका थिए ।

आफूहरूले मागेको चन्दा रकम नदिए पालिकाका अध्यक्ष खड्का र उनका परिवारका सदस्यलाई मार्ने धम्की दिन लगाउने मुख्य योजनाकारका रूपमा लिखु गाउँपालिकाकी उपाध्यक्ष दाहाल र तिल्पुङका वडा अध्यक्ष बोहोराको प्रत्यक्ष संलग्नता रहेको प्रमाणका आधारमा जिल्ला अदालत काठमाडौंले उनीहरूलाई कैद र जरिमाना दुवै सजाय हुनेगरी फैसला सुनाएको हो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE