Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

कांग्रेस नेतृत्वमा बन्ला नयाँ सरकार ?

२२ वैशाख, काठमाडौँ –  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्व सरकारलाई विश्वासको मत पुग्न नदिने निर्णय मंगलबार गरेको छ। यसअघि कांग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकारको विकल्प खोज्ने निर्णय गरेको थियो। यतिमात्रै होइन, केन्द्रीय समितिले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय पनि गरेको थियो।

राजनीतिक अविश्वास र संकट चुलिँदै गएका बेला प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने निर्णय गरेका छन्। विपक्षी दलहरू अविश्वासको प्रस्ताव ल्याउन हिचकिचाइरहेका बेला प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेका हुन्।

प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत पाउलान् रु संसद्मा रहेका अन्य दलहरूको मात्र होइन, प्रधानमन्त्री ओलीकै पार्टी एमालेभित्र विवाद भएकाले आफ्नै सांसदको मत पनि उनको पक्षमा पर्ने स्पष्ट छैन। वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितले पार्टी अध्यक्षका रूपमा ओलीले विगतमा गरेका निर्णय नसच्याए सामूहिक राजीनामा गर्ने बताउँदै आएका छन्।

माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। माओवादी स्थायी समिति बैठकले ओली नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने र यसबारे बुधबार संसद् सचिवालयलाई जानकारी गराउने निर्णय गरेको छ। प्रमुख प्रतिपक्षी कांग्रेसले पनि ओली सरकारको विपक्षमा उभिने निर्णय गरेको छ। प्रधानमन्त्रीलाई विश्वासको मत पुग्न नदिने निर्णय कांग्रेस पार्टी पदाधिकारी बैठकले गरेको छ। सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बसेको पदाधिकारीसहितको बैठकले प्रधानमन्त्रीको पक्षमा बहुमत पुग्न नदिन अन्य राजनीतिक दलसँग छलफल अघि बढाउने निर्णय गरेको हो।

त्यसो भए के केन्द्रमा कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन हुन्छ त ? कांग्रेस केन्द्रीय समिति बैठकले पनि ओली सरकारको विकल्पमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पहिले नै गरिसकेको छ। तर नयाँ सरकारको साँचोका रूपमा रहेको जनता समाजवादी पार्टी ओली सरकारको विकल्प खोज्नेमा अहिलेसम्म एकमत छैन। जसपामा उपेन्द्र यादव, बाबुराम भट्टराई ओली सरकारको विपक्षमा देखिएका छन्। तर महन्थ ठाकुर, राजेन्द्र महतोसहितका नेता ओली नेतृत्वको सरकारको पक्षमा लचिलो देखिएका छन्। जसले गर्दा कांग्रेस, माओवादीसहितका दलहरू प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन हिचकिचाउँदै आएका छन्।

यो समाचार नागरिक दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE